प्रगतिशील लोकतान्त्रिक पार्टीका राजन गौतमः नामले होइन, व्यवहारले कम्युनिस्ट

0
28

नुवाकोट । नुवाकोट जिल्लाका परिवर्तनकारी योद्धा तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का केन्द्रीय सदस्य एवं बागमती प्रदेश समिति अध्यक्ष मण्डलका अध्यक्ष राजन गौतम (नकुल) ले कम्युनिस्ट विचार र व्यवहारबीचको अन्तरप्रति गम्भीर टिप्पणी गर्दै नाम र नाराले होइन, आचरण र व्यवहारले मात्र साँचो कम्युनिस्ट पहिचान हुने बताएका छन्।

उहाँले मार्क्स, लेनिन, स्टालिन र माओका नाम उच्चारण गर्दैमा कोही कम्युनिस्ट नहुने स्पष्ट पार्दै भन्नुभयो, “कम्युनिस्ट हुने आधार नाम होइन, आचरण र व्यवहार हो। सही विचार बोकेर मात्र पुग्दैन; त्यस विचारअनुसार जनताको पक्षमा उभिने, शोषणको विरोध गर्ने र व्यवहारमै परिवर्तन देखाउने हो भने मात्र कम्युनिस्ट हुन सकिन्छ।”
राजन गौतमले नामकै आधारमा कसैलाई राष्ट्रपति पुटिन भन्न नमिल्ने उदाहरण प्रस्तुत गर्दै विचार र व्यवहार एक नहुँदासम्म साँचो कम्युनिस्ट जन्मिन नसक्ने धारणा व्यक्त गर्नुभयो। उहाँले विगतमा जनताको दुःख, पसिना र रगत बगाएर बनाइएको साझा राजनीतिक “घर” स्वार्थका कारण भत्काइएकोप्रति असन्तुष्टि जनाउँदै त्यसको निष्पक्ष समीक्षा इतिहासले गर्ने विश्वास व्यक्त गर्नुभयो।
“हामीले धेरै संघर्ष गरेर बनाएको घर आफ्नै निहित स्वार्थका लागि भत्काइयो,” उहाँले भन्नुभयो, “यसको मूल्याङ्कन इतिहासले अवश्य गर्नेछ।”
आगामी दिनतर्फ संकेत गर्दै उहाँले अब नयाँ प्रयासमा जुटिरहेको जानकारी दिनुभयो। “अब हामी अर्को प्रयासमा छौँ—सानो भए पनि सबै नेपाली अटाउने, हाँसी–खुसी र सद्भावसहित बस्न सकिने साझा घर निर्माण गर्ने,” उहाँले बताउनुभयो। उक्त साझा घरमा सबैका लागि सम्मान, समानता र सुखद भविष्य सुनिश्चित गर्ने दृढ संकल्प पार्टी र आफ्नो नेतृत्वको रहेको उहाँको भनाइ थियो।

राजन गौतमको यो अभिव्यक्तिलाई नुवाकोटसहित बागमती प्रदेशको समसामयिक राजनीतिक बहसमा विचार र व्यवहारको मेलबारे गरिएको सशक्त हस्तक्षेपका रूपमा हेरिएको छ।

LEAVE A REPLY