नुवाकोट विकासका तीन महत्वपूर्ण योजना सार्वजनिक

0
33

नुवाकोट विकासका तीन महत्वपूर्ण योजना सार्वजनिक
नुवाकोट — बागमती प्रदेश प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष राजन गौतम (नकुल) ले नुवाकोटको पर्यटन तथा आर्थिक विकासलाई केन्द्रमा राख्दै आफ्ना तीन महत्वपूर्ण योजना सार्वजनिक गरेका छन्। अध्यक्ष गौतमले ती योजना सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै जिल्लाको समग्र रूपान्तरणका लागि दीर्घकालीन सोचसहितको नेतृत्व आवश्यक रहेको बताएका छन्।
उनले सार्वजनिक गरेको पहिलो योजना नुवाकोट दरबार, देवीघाट, सूर्यचौरलगायत ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्थललाई एउटै ढाँचामा समेट्ने एकीकृत सांस्कृतिक पर्यटन सर्किट निर्माण हो। यसले नुवाकोटको ऐतिहासिक पहिचानलाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने अध्यक्ष गौतमको भनाइ छ। उक्त सर्किट निर्माणसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने र स्थानीय व्यवसाय चलायमान हुने अपेक्षा गरिएको छ।
दोस्रो योजनाअन्तर्गत ककनी–सूर्यचौर–तोपडाँडा क्षेत्रलाई केन्द्रमा राखेर पदमार्ग, होमस्टे र साहसिक पर्यटन प्रवर्द्धन गर्ने प्रस्ताव गरिएको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यी क्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्न सकिए स्थानीय समुदाय प्रत्यक्ष रूपमा पर्यटन व्यवसायमा संलग्न हुने र युवालाई गाउँमै रोजगारी सिर्जना हुने अध्यक्ष गौतमले उल्लेख गरेका छन्।
तेस्रो योजना त्रिशूली करिडोरलाई केन्द्रमा राखेर जल–प्रकृति पर्यटन विकास गर्नुका साथै स्थानीय उत्पादनको स्थायी बजार स्थापना गर्ने रहेको छ। नदी, जलविद्युत्, प्राकृतिक स्रोत र कृषि उत्पादनलाई पर्यटनसँग जोड्दा किसान, उद्यमी र स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने लक्ष्य लिइएको छ।
अध्यक्ष गौतमले यी तीनै योजना कार्यान्वयनका लागि दलगत स्वार्थभन्दा माथि उठेको, पारदर्शी, जनमुखी र जवाफदेही नेतृत्व अपरिहार्य रहेको बताएका छन्। नीति, लगानी र जनसहभागितालाई एकसाथ अघि बढाउन सके नुवाकोटको आर्थिक अवस्था रूपान्तरण गर्न सकिने उनको दाबी छ।
उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणा अन्त्यमा “हाम्रो पालामा सम्भव छ” भन्ने प्रतिबद्धतासहित नुवाकोटको विकासका लागि प्रलोपा दृढ संकल्पका साथ अघि बढ्ने संकेत दिएका छन्।

LEAVE A REPLY