नुवाकोटमा एकीकृत धार्मिक पर्यटन सर्किट निर्माणको प्रस्ताव : “पुरानाले गरेनन्, अब हामी गर्छौं”

0
58

नुवाकोटमा एकीकृत धार्मिक पर्यटन सर्किट निर्माणको प्रस्ताव : “पुरानाले गरेनन्, अब हामी गर्छौं”
नुवाकोट, पुस २१
नुवाकोट जिल्लालाई देशकै प्रमुख धार्मिक पर्यटन केन्द्र बनाउन एकीकृत धार्मिक पर्यटन सर्किट निर्माण गर्नुपर्नेमा प्रलोपा प्रगतिशील लोकतान्त्रिक पार्टीका बागमती प्रदेश अध्यक्ष राजन गौतम ‘नकुल’ले जोड दिएका छन्। दशकौँसम्म स्पष्ट योजना र राजनीतिक इच्छाशक्तिको अभावले जिल्लाका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरू अपेक्षित रूपमा उपयोग हुन नसकेको उनको भनाइ छ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै अध्यक्ष गौतमले भने, “अब समय फेरिएको छ। पुरानाले गरेनन्, अब हामीले गर्ने हो भन्ने उन्नत सोचका साथ अगाडि बढ्नुपर्छ।” उनले नुवाकोटमा एकीकृत धार्मिक पर्यटन सर्किट निर्माण आजको आवश्यकता रहेको बताए।
प्रस्तावित सर्किट देवीघाट धामबाट सुरु हुने उनको योजना छ। यसमा भैरबी, त्रिशूली र फलाखु नदीको संगमस्थल उत्तरगया धाम, बीचमा पर्ने विभिन्न ऐतिहासिक तथा धार्मिक स्थलहरू, तादी खोला पट्टिको सेरा दरबार हुँदै दुप्चेश्वर धाम तथा लिखु खोला पट्टिको त्रिवेणी तलाखुको शिवालय, काबिलासको कपिलेश्वर महादेव र बर्मेश्वर महादेवलाई समेटिने छ।
यी सबै स्थलहरूलाई पदमार्ग, सूचना केन्द्र, विश्रामस्थल, होमस्टे र विविध धार्मिक गतिविधिसँग व्यवस्थित रूपमा जोड्न सके नुवाकोटलाई प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाउन सकिने गौतमको विश्वास छ। “सम्पदालाई केवल पूजा–आस्थासँग मात्र सीमित नराखी रोजगारी र आयआर्जनसँग जोड्नुपर्छ,” उनले थपे।
यो सर्किट कार्यान्वयन भएमा पुजारी, पर्यटक गाइड, होटल तथा होमस्टे व्यवसाय, यातायात, हस्तकला र स्थानीय कृषि उत्पादनमा आधारित व्यवसायमार्फत कम्तीमा २ देखि ४ हजार स्थानीयलाई प्रत्यक्ष रोजगारी सिर्जना हुने उनको दाबी छ। पर्यटनबाट प्राप्त हुने आम्दानीले युवाहरू गाउँमै भविष्य देख्न थाल्ने र विदेश पलायनको क्रम रोकिने उनले बताए।
अध्यक्ष गौतमले खोक्रो भाषण होइन, स्पष्ट योजना, इमानदार नेतृत्व र जनसहभागितासहित काम गर्नुपर्नेमा जोड दिए। “इतिहासको बहानामा बस्ने होइन, नुवाकोटका सम्भावनालाई व्यवहारमा उतार्ने समय यही हो,” उनले भने।

LEAVE A REPLY