भुक्तानी ढिलाइले निर्माण क्षेत्र गम्भीर संकटमा : राम गोपाल श्रेष्ठ

0
53

भुक्तानी ढिलाइले निर्माण क्षेत्र गम्भीर संकटमा : राम गोपाल श्रेष्ठ
काठमाडौँ– निर्माण व्यवसायी तथा रबिना कन्स्ट्रक्सन प्रालिका प्रमुख राम गोपाल श्रेष्ठले सरकारी निकायबाट समयमै भुक्तानी नहुँदा नेपालका निर्माण व्यवसायी गम्भीर आर्थिक तथा मानसिक संकटमा परिरहेको बताएका छन्। उनले भुक्तानी समस्याका कारण निर्माण क्षेत्र मात्र होइन, समग्र राष्ट्रिय विकास नै प्रभावित हुँदै गएको धारणा व्यक्त गरेका छन्।
निर्माण क्षेत्रको वर्तमान अवस्थाबारे प्रतिक्रिया दिँदै श्रेष्ठले भने, “सम्झौताअनुसार काम सम्पन्न गरिसकेपछि पनि महिनौँ, कहिलेकाहीँ वर्षौँसम्म भुक्तानी नपाउने अवस्था छ। यसले निर्माण व्यवसायीलाई मात्र होइन, मजदुर, सामग्री आपूर्तिकर्ता र बैंकिङ प्रणालीसम्म असर पुर्‍याइरहेको छ।”
उनका अनुसार भुक्तानी ढिलाइका कारण कामदारको ज्याला दिन नसक्ने, सामग्री आपूर्ति रोकिने र नयाँ आयोजना सुरु गर्न नसक्ने अवस्था सिर्जना भएको छ। “निर्माण व्यवसाय पूँजीमा आधारित क्षेत्र हो। समयमै भुक्तानी नहुँदा व्यवसाय सञ्चालन नै कठिन बन्दै जान्छ,” उनले स्पष्ट पारे।
श्रेष्ठले भुक्तानी समस्यासँगै प्रशासनिक झन्झट, पटक–पटक हुने नीतिगत परिवर्तन र स्पष्ट कार्यविधिको अभावले निर्माण क्षेत्र थप जटिल बन्दै गएको बताए। “राज्यले विकास निर्माणलाई प्राथमिकता दिन्छ भने सबैभन्दा पहिले भुक्तानी प्रणालीलाई पारदर्शी, सरल र समयबद्ध बनाउनुपर्छ,” उनको भनाइ छ।
रबिना कन्स्ट्रक्सनले सधैँ गुणस्तर, समयपालन र जिम्मेवारीलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै उनले भने, “हामी सम्झौताअनुसार काम पूरा गर्छौँ। तर काम सम्पन्न भएपछि भुक्तानीका लागि कार्यालय धाइरहनु पर्ने अवस्था आउनु दुःखद र अन्यायपूर्ण हो।”
उनले निर्माण क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा व्याख्या गर्दै भने, “निर्माण व्यवसाय कमजोर हुँदा रोजगारी सिर्जना घट्छ, पूर्वाधार निर्माण सुस्त हुन्छ र समग्र आर्थिक गतिविधि प्रभावित हुन्छ।” त्यसैले राज्यले निर्माण क्षेत्रलाई रणनीतिक क्षेत्रका रूपमा हेरेर व्यवहार गर्नुपर्ने उनले जोड दिए।
सरकार, सम्बन्धित मन्त्रालय र सार्वजनिक निकायहरूलाई समयमै भुक्तानी सुनिश्चित गर्न आग्रह गर्दै श्रेष्ठले निजी क्षेत्रलाई विकासको साझेदारका रूपमा सम्मान गर्नुपर्ने आवश्यकता औंल्याए। “विश्वास र सहकार्यको वातावरण बने मात्र निर्माण क्षेत्र सबल हुन्छ र देशले अपेक्षित विकासको गति लिन सक्छ,” उनले निष्कर्ष निकाले।

LEAVE A REPLY