
प्रलोपा तर्फबाट काठमाडौं क्षेत्र नम्बर २ मा शंकर दुलालको उम्मेदवारी सिफारिस


काठमाडौं, पुष २२ — काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले शंकर दुलाललाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले दुलाललाई औपचारिक रूपमा सिफारिस गरेको हो। काठमाडौं शंखरापुर नगरपालिकाका स्थायी बासिन्दा दुलाल शंखरापुर क्षेत्रको कला, संस्कृति र पहिचान प्रवर्द्धनमा सक्रिय रूपमा लाग्दै आएका छन्। शंखरापुरलाई ‘कला–सांस्कृतिक ग्राम’का रूपमा विकास गर्ने अभियानमार्फत नगरको ऐतिहासिक, धार्मिक तथा पर्यटन प्रवर्द्धनमा उनले उल्लेखनीय योगदान पुर्याएको बताइन्छ।
आफ्नो उम्मेदवारी सिफारिसप्रति प्रतिक्रिया दिँदै दुलालले यसअघि काठमाडौं–२ मा स्थानीयलाई प्राथमिकता नदिई बाहिरबाट आएका “टुरिष्ट उम्मेदवार” अघि सारिँदै आएको आरोप लगाए। स्थानीय जनताको भावना र आवश्यकता बुझ्ने उम्मेदवारलाई अवसर दिएकोमा उनले प्रलोपा पार्टीप्रति आभार व्यक्त गरे।
शिक्षा, स्वास्थ्य, युवा सशक्तीकरण, वातावरण संरक्षण र स्थानीय पूर्वाधार विकासमा दुलालले निरन्तर योगदान पुर्याउँदै आएका छन्। शंखरापुर नगरपालिका भित्र विद्यालय सुधार, विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, निःशुल्क स्वास्थ्य शिविर सञ्चालन तथा प्राकृतिक विपद्का बेला राहत र उद्धारमा सक्रिय भूमिका खेलेको स्थानीयहरूको भनाइ छ।
यिनै सामाजिक कार्यका कारण दुलाल जनतामाझ विश्वासिलो समाजसेवीका रूपमा परिचित छन्।
दुलाल स्थानीय तहमा विकास योजना निर्माणदेखि कार्यान्वयनसम्म जनताको प्रत्यक्ष सहभागिता हुनुपर्छ भन्ने मान्यतामा अघि बढ्दै आएका छन्। “राजनीति सेवा हो, सत्ता होइन” भन्ने सोचलाई व्यवहारमा उतार्दै आएको भन्दै विभिन्न समुदाय, युवा, महिला तथा बुद्धिजीवी वर्गले उनको उम्मेदवारी सिफारिसलाई सकारात्मक रूपमा लिएका छन्।
प्रगतिशील लोकतान्त्रिक पार्टीले दुलाललाई पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई प्रभावकारी रूपमा प्रतिनिधित्व गर्न सक्ने इमानदार, सक्षम र जनमुखी नेतृत्वका रूपमा सिफारिस गरिएको जनाएको छ। पार्टी नेताहरूका अनुसार दुलाल लोकतन्त्र, सामाजिक न्याय, समावेशी विकास र सुशासनको पक्षमा निरन्तर आवाज उठाउँदै आएका छन्।
संघीय निर्वाचन नजिकिँदै जाँदा काठमाडौं–२ मा राजनीतिक सरगर्मी बढिरहेको छ। यस्तो अवस्थामा दुलालको उम्मेदवारी सिफारिसले चुनावी प्रतिस्पर्धा थप रोचक बनाएको स्थानीय मतदाताहरूको प्रतिक्रिया छ। विकासमुखी, इमानदार र जनतासँग नजिक रहने उम्मेदवारको खोजीमा रहेका मतदाताले दुलाललाई उपयुक्त विकल्पका रूपमा हेरेका छन्।
जनताको विश्वास र साथ पाएमा काठमाडौं–२ को समग्र विकास, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गर्दै दुलालले भने,
“जनताले दिएको जिम्मेवारीलाई इमानदारीपूर्वक पूरा गर्नेछु। यो सिफारिस मेरो व्यक्तिगत उपलब्धि मात्र होइन, समाजसेवामा समर्पित सबैको सम्मान हो।”











