समाजसेवा र सुशासन एजेन्डासहित प्रलोपा उम्मेदवार मैदानमा

0
164

काठमाडौँ, पुस २२ — प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले काठमाडौँका दुई निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार औपचारिक रूपमा अघि सारेको छ।

पार्टीले काठमाडौँ निर्वाचन क्षेत्र नं. ५ बाट समाजसेवी खेलाडी विष्णु श्रेष्ठ र काठमाडौँ निर्वाचन क्षेत्र नं. ६ बाट पार्टी नेता राकेश अरियाल लाई उम्मेदवारका रूपमा सिफारिस तथा अभियान सुरु गरेको जनाएको छ।
पार्टीका अनुसार विष्णु श्रेष्ठ लामो समयदेखि खेलकुद क्षेत्रमार्फत सामाजिक अभियानमा सक्रिय रहँदै आएका छन्। उनले युवालाई खेलकुदमा सहभागी गराउँदै लागूऔषध दुर्व्यसन र सामाजिक विकृतिविरुद्ध स्थानीयस्तरमा सचेतना अभियान सञ्चालन गर्दै आएका छन्।

स्थानीय राजनीतिक तथा सामाजिक अगुवाहरूको भेलाले श्रेष्ठलाई क्षेत्र नं. ५ बाट उम्मेदवार सिफारिस गरेको हो।
सिफारिसपछि प्रतिक्रिया दिँदै श्रेष्ठले आफूलाई प्राप्त विश्वासलाई जिम्मेवारीका रूपमा लिएको बताए। उनले अवसर पाए जनताको आवाज संसदमा पुर्‍याउने र खेलकुद, शिक्षा तथा युवा रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।
यस्तै, पार्टी नेता राकेश अरियालले काठमाडौँ निर्वाचन क्षेत्र नं. ६ बाट चुनावी अभियान सुरु गरेका छन्। उनले जेन्जी शहीद परिवारलाई विशेष अग्राधिकार दिने, भ्रष्टाचारविरुद्ध कडा कारबाही गर्ने र परिणाममुखी शासन प्रणाली स्थापना गर्ने एजेन्डा सार्वजनिक गरेका छन्।

अरियालले जेन्जी शहीद परिवारका लागि काठमाडौँमै घर, रोजगारी, शिक्षा तथा स्वास्थ्य सेवा आजीवन निःशुल्क उपलब्ध गराइने प्रतिबद्धता जनाएका छन्। साथै भ्रष्टाचार उजागर गर्न सरकारलाई गोप्य सूचना उपलब्ध गराउने नागरिकलाई कारबाहीबाट असुल भएको रकमको ५० प्रतिशत पुरस्कार दिने व्यवस्था गरिने दाबी गरेका छन्।

प्रलोपा का अनुसार काठमाडौँका निर्वाचन क्षेत्र नं. ५ र ६ मा अघि सारिएका उम्मेदवारहरू समाजसेवा, युवा सहभागिता र सुशासनको मुद्दामा केन्द्रित छन्। पार्टीले आगामी निर्वाचनमा वैकल्पिक राजनीतिक धार प्रस्तुत गर्ने जनाएको छ।

LEAVE A REPLY