निर्वाचन नलड्ने घोषणा गरेका बाबुरामलाई गोरखाका दुवै क्षेत्रबाट सिफारिस

0
12

निर्वाचन नलड्ने घोषणा गरेका बाबुरामलाई गोरखाका दुवै क्षेत्रबाट सिफारिस
गोरखा । पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा. बाबुराम भट्टराईले आगामी निर्वाचन नलड्ने घोषणा गरे पनि पार्टीको गोरखा जिल्ला समितिले उनलाई दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ ।
शनिबार बसेको जिल्ला कार्यसमितिको बैठकले गोरखा–१ र गोरखा–२ दुवै क्षेत्रबाट भट्टराईको नाम पहिलो नम्बरमा राखेर सिफारिस गरेको हो । गण्डकी प्रदेश इन्चार्ज फणीन्द्र देवकोटाको उपस्थितिमा भएको बैठकले सर्वसम्मत रूपमा यो निर्णय गरेको पार्टी स्रोतले जनाएको छ ।
गोरखा–१ बाट भट्टराईसँगै पत्रकार अर्जुन पन्त, शारदा प्रसाद धिताल, बाबुराम नेपाली र साधुराम नेपालीको नाम पनि सिफारिस भएको छ । त्यस्तै गोरखा–२ बाट भट्टराईको नामसँगै बाबुराम श्रेष्ठ, परशुराम पोखरेल र सानु गुरुङलाई सिफारिस गरिएको छ ।
केही दिनअघि मात्र डा. भट्टराईले सक्रिय राजनीति र निर्वाचनबाट अलग हुने घोषणा गरेका थिए । तर पार्टीका नेताहरूले उनको अनुभव, लोकप्रियता र गोरखामा रहेको प्रभावलाई मध्यनजर गर्दै सिफारिस गरेको बताएका छन् । “उहाँको नामले पार्टीको स्थिति बलियो हुन्छ, अन्य उम्मेदवारलाई पनि सहयोग पुग्छ,” एक नेताले भने ।
बैठकले निर्वाचन अभियानलाई तीव्र बनाउने र जिल्लाका सबै पालिका तथा वडामा संगठन विस्तार गर्ने रणनीति पनि बनाएको छ । आगामी फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा प्रलोपाले वैकल्पिक शक्तिका रूपमा आफूलाई उभ्याउने प्रयास गरिरहेको देखिन्छ ।
डा. भट्टराईले यसअघि पनि यस्तै घोषणा गरेर पछि उम्मेदवारी दिएका उदाहरणहरू छन् । यसपटक उनले अन्तिम निर्णय के गर्लान्, राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

LEAVE A REPLY