
न्यूज: गगन थापा नेतृत्वको नेपाली कांग्रेसको नयाँ कार्यसमिति आज निर्वाचन आयोगमा


न्यूज: गगन थापा नेतृत्वको नेपाली कांग्रेसको नयाँ कार्यसमिति आज निर्वाचन आयोगमा
काठमाडौं, माघ १ (२०८२) — नेपाली कांग्रेसमा देखिएको गम्भीर संकटका बीच गगन थापा नेतृत्वको पक्षले आज निर्वाचन आयोगमा नयाँ केन्द्रीय कार्यसमितिको आधिकारिकता दाबी गर्दै निवेदन दर्ता गर्ने भएको छ।
विशेष महाधिवेशनबाट बुधबार निर्विरोध सभापतिमा निर्वाचित गगन थापाको नेतृत्वमा गठित नयाँ कार्यसमितिले बिहीबार पहिलो बैठक बस्दैछ भने आजै आयोगमा औपचारिक निवेदन पेस गर्ने तयारी गरेको हो
शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले गगन थापा, विश्वप्रकाश शर्मा लगायतलाई पार्टीबाट निष्कासन गरेको निर्णयसमेत आयोगमा पेस भइसकेको छ। यता थापा पक्षले विशेष महाधिवेशन विधानसम्मत भएको र ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षरका आधारमा भएको दाबी गर्दै आएको छ
निर्वाचन आयोगले दुवै पक्षबाट औपचारिक निवेदन नआएसम्म कुनै निर्णय नगर्ने बताएको छ। आयोगका एक अधिकारीका अनुसार लिखित निवेदन र प्रमाणहरूका आधारमा मात्र वैधानिकता टुंगो लाग्नेछ।
नेपाली कांग्रेस औपचारिक रूपमा विभाजनउन्मुख भएको यो घटनाले आगामी निर्वाचनअघि ठूलो राजनीतिक तरंग ल्याउने देखिएको छ। थापा पक्षले “यो पार्टी फुट होइन, नयाँ शुरुआत हो” भन्दै आएको छ भने देउवा पक्षले विशेष महाधिवेशनलाई अवैध ठहर गरेको छ।











