
प्रतिनिधिसभा निर्वाचनः मनोनयन दर्ता मिति थपिने सम्भावना, दलहरूको आग्रहपछि आयोग छलफलमा


नगर बिकास संवाददाता
काठमाडौं, माघ ४ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ता मिति थपिने सम्भावना बढेको छ।
निर्वाचन आयोगले तोकेको माघ ६ गतेको मिति एक साता वा केही दिन पछाडि धकेल्न प्रमुख राजनीतिक दलहरूले आग्रह गरेका छन्।
मुख्यतः नेपाली कांग्रेसको आन्तरिक विवाद र उम्मेदवार छनोटमा समयाभावलाई कारण देखाउँदै दलहरूले मनोनयन अवधि थप्न माग गरेका हुन्।
शेरबहादुर देउवा पक्षले माघ ६ गतेको मनोनयन प्रक्रिया नै स्थगन गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ भने सर्वोच्च अदालतमा पनि रिट दायर गरेको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मनोनयन मिति वा निर्वाचन मिति सार्नेबारे कुनै औपचारिक निर्णय वा छलफल नभएको स्पष्ट पारेका छन्। उनले अनुमानका आधारमा समाचार सम्प्रेषण नगर्न पनि सञ्चारमाध्यमलाईअनुरोध गरेका छन्।
यद्यपि, स्रोतहरूका अनुसार दलहरूबाट आएको आग्रहपछि आयोगका पदाधिकारीहरू मनोनयन समयसीमा थप्ने विषयमा छलफलमा जुटेका छन्। प्रधानमन्त्रीले आजै मन्त्रीहरू र आयोगका पदाधिकारीसँग बालुवाटारमा छलफल गर्ने कार्यक्रम रहेको छ।
निर्वाचन आयोगले यसअघि सार्वजनिक गरेको कार्यतालिकामा माघ ६ गते मनोनयन दर्ता तोकेको थियो। उम्मेदवारले १३ प्रकारका कागजातसहित १० हजार धरौटी बुझाउनुपर्ने प्रावधान छ भने महिला र दलित उम्मेदवारलाई धरौटीमा आधा छुट दिइएको छ।
राजनीतिक अस्थिरता र दलहरूको आन्तरिक तयारी नपुगेकाले मनोनयन मिति थपिए निर्वाचन प्रक्रियामा केही ढिलाइ हुन सक्ने विश्लेषकहरू बताउँछन्। आयोगले चाँडै यसबारे औपचारिक निर्णय सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।











