कहिले सम्म,जनता कहिले जाग्ने ? कति नयाँ नयाँ खाेज्ने,हिरा र किरा कहिले चिन्ने,आशय बुझाै याे आलेखबाट

0
24

कहिले सम्म,जनता कहिले जाग्ने ? कति नयाँ नयाँ खाेज्ने,हिरा र किरा कहिले चिन्ने,आशय बुझाै याे आलेखबाट।

तिम्रो लोलुपता, पदलोभ, राजनीतिक अकर्मण्यता र झूट–छलको जालमा कैयौँ दशकदेखि जनता अल्झिँदै आएका छन्। जनमुखी विकासका नाममा पार्टीका सीमित कार्यकर्ता केन्द्रित योजनाहरू, चारैतिर फैलिएको महँगी, भ्रष्टाचार, अनावश्यक विभाग तथा भर्ति केन्द्रहरूले आम नागरिकको बुनियादी जीवन नै असहज बनाइदिएका छन्। ‘सजिलो प्रशासन’ भनेर प्रविधिको नाममा थोपारिएको महँगो बोझ पनि अन्ततः जनतामै खनिएको छ।
वैदेशिक रोजगारीलाई विकल्प नभई दासत्वको आधुनिक रूप बनाइयो—सरकारी लाइसेन्स दिएर देशका आधा युवा विदेशिने, आधा बेचिने, बाँकी पुस्तकामा मात्र बचेको आशा। रोजगार सृजनाको नारा चुनावी भाषणमा सीमित रह्यो; प्रतिशोधको राजनीति विकासभन्दा ठूलो बनाइयो; जनताको माग र आवश्यकता सुन्ने नैतिक ऊर्जा राजनीतिक दलमा खोसिँदै गयो। अपराधी, ठग, लुटेरा, मानव तस्करीबाट अभियाेगित पात्रहरू नै बारम्बार सांसद, मन्त्री बन्ने; देश चलाउने अधिकार पाउने; र राज्य मर्काउने तिनै हातहरूलाई राजनीतिक दलले ‘योग्य’ ठहर्याइरहनु—यो नै आम नेपालीको महान् दुर्भाग्य हो, र दल–नेतृत्वको पतनको सुनिश्चित सुरुवात पनि।
विभिन्न नामका विदेश र स्वदेशी फाउन्डेसन ingo, ngo ल्याउन लाइसेन्स दिनेहरूले स्वयं के गरे? परिवर्तनका नाममा जनतालाई उही नियति दोहोर्याए। शासन परिवर्तन भयो, तर शासनभित्रको चरित्र परिवर्तन भएन। राणाकालदेखि आजसम्म रूप फेरिए, तर सोच, चेतना र प्रवृत्ति धेरै ठाउँमा उस्तै रह्यो।

कुनै पनि वाद वा तन्त्रले मानव स्वभाव बदलिदिँदैन—समय अनुसारकाे सुविधा खोजिन्छ, सत्यताभन्दा सत्ता र शक्तिको मोह बढाइन्छ।

यिनै भ्रष्ट, ठग, बलात्कारी, हत्यारा र स्वार्थी शक्तिहरूले ‘आन्दोलन’ को आवरणमा आफ्ना लालसाका सपना पूरा गर्न अनगिन्ती निर्दाेष जनतालाई बलि चढाए। विदेशी भूमिमा बेचिन बाध्य हजारौँ युवाको पीडा, रित्तो कोख बोकेर रोइरहेकी आमाहरुको बर्बाद भविष्य—यी सबै परिवर्तनका नाममा वैध बनाइयो। यता देशमै रोजगारी खोज्दा विद्यार्थी, युवा र जनताले दिनौँ घामपानी छेक्दै आन्दोलन गर्नुपर्छ, प्राणै दिनुपर्छ—यही कस्तो विडम्बनापूर्ण शासन !
अब भन्नैपर्छ—के देश दुई–चार जनाकाे निजी सम्पत्ति हो?
के यिनैले जे गरे पनि सहनैपर्ने?
यिनकै भ्रष्टता र अत्याचारले मरेका जनताकाे चीत्कार अझै मक्किएको माटोले बोकिरहेकै छ।
‘राजा → राणा → प्रजा + राजा → राजा → राजा + प्रजा → प्रजा + गणतन्त्र → ?’
यस चक्रले एउटा कुरा मात्र प्रमाणित गर्छ—चुनाव भनेको विकल्प होइन; राजनीतिक स्थिरता भनेको कुर्सीको अदल–बदल पनि होइन।
देशलाई सर्वप्रथम चाहिने कुरा हो—
राजनीति गर्न योग्य, नीतिमत्ता भएको, राजनीति शास्त्र, समाज, संस्कृति र भूपरिस्थितिको गहिरो बोध भएको विशुद्ध नेपाली नागरिक नेतृत्व।
जात, धर्म, प्रतिशाेध, घमण्ड र अपराधी मानसिकता बोकेको नेतृत्व देशका लागि घातक छ। भ्रष्ट्र, ठग र दलालहरूले बनाएको नियति बदल्नु छ भने योग्य नेतृत्वको छनोट अनिवार्य छ। यदि परिवर्तन गोली, मृत्यु र बलिदानले आउँथ्यो भने आजसम्म देशमा समस्या समाप्त भइसक्थ्यो।
अहिले चाहिने कुरा—अपराधी, ठेकेदार, दलाल र नैतिक पतन भएका सबैलाई राजनीतिको ढोका बन्द गर्ने पहलकदमी हो।
राजनीति गर्नका लागि पनि योग्यताका मापदण्ड हुनुपर्छ—शिक्षा, ज्ञान, समाज–संस्कृतिको बुझाइ, भौगोलिक चेत, नैतिकता र जिम्मेवारी।
सबैभन्दा महत्वपूर्ण—
शिक्षक, विद्यार्थी, पत्रकार, कर्मचारी, वकिल, बुद्धिजीवी र पेशागत क्षेत्रहरू राजनीतिक दलको पकडबाट पूर्ण रूपमा स्वतन्त्र हुनुपर्छ।
यिनै वर्गले आफ्नो विवेक, दक्षता र ज्ञानको शक्तिशाली मोर्चा बनाएर राष्ट्रको नेतृत्व अघि बढाउनुपर्छ। नत्र यो देश सधैँ गुन्डा, दलाल, भ्रष्ट, ठेकेदार र अराजक मानसिकता बोकेकाहरूको खेलमै फसिरहनेछ।अपराधीको भिडमा साधुसन्त पनि अपराधी मानिन्छ; चोखो बन्न चाहन्छौ भने पहिला त्यो भिडबाट बाहिर निस्कनुपर्छ।
अब तयारीमा जुट,
हामी सबै साथ छौँ।
सन्तोष प्रसाद तिवारी (लेखक)
२०८२/८/१५/

LEAVE A REPLY