जेनजी जागरण तथा बृहत सांस्कृतिक अभियान सम्पन्न

0
25

जेनजी जागरण तथा बृहत सांस्कृतिक अभियान
काठमाडौं – २७ पुस २०८२
नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित जेनजी रेडफोर्स नेपालको बृहत जनसांस्कृतिक कार्यक्रमले युवा पुस्तामा समाजवादी चेतना र नयाँ ऊर्जाको सञ्चार गरेको छ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री    पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा सम्पन्न यो कार्यक्रमले युवा नेतृत्वको महत्व, पार्टी रूपान्तरण र समाजवादी आन्दोलनमा जेनजी पुस्ताको भूमिकालाई जोडदार रूपमा प्रस्तुत गरेको छ। कार्यक्रममा   युवा, विद्यार्थी, कलाकार र सामाजिक अभियन्ताहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।

जेनजी रेडफोर्स नेपालको स्थापना प्रतिकूल राजनीतिक परिस्थितिमा स्वतःस्फूर्त रूपमा भएको थियो। छोटो समयमै देशव्यापी रूपमा विस्तार भएको यो संगठनले जेनजी पुस्तालाई वैचारिक रूपमा संगठित गर्दै भ्रष्टाचारविरोधी अभियान, सुशासन र समाजवादी चेतना फैलाउने काममा महत्वपूर्ण योगदान पुर्‍याएको छ। विशेष गरी २०८२ भदौ २३ र २४  को जेनजी आन्दोलनका क्रममा यो संगठनले पार्टीको पक्षमा जनमत तयार पार्न र कठिन अवस्थामा साथ दिने साहस देखाएको थियो।

संयोजक प्रचण्डले कार्यक्रममा यो योगदानको प्रशंसा गर्दै भन्नुभयो, “जेनजी रेडफोर्सको स्थापना पार्टीको औपचारिक निर्देशनमा नभई प्रतिकूल परिस्थितिमा भएको हो। यसको उद्देश्य देशभर फैलिनु र पार्टीको पक्षमा जनमत फैलाउने हिम्मत देखाउनु थियो। तपाईंहरूले यो कार्य सफलतापूर्वक पूरा गर्नुभएको छ। म यसका लागि विशेष धन्यवाद दिन चाहन्छु।”
उहाँले संगठनलाई भ्रातृ संस्थाको रूपमा मान्यता दिने प्रक्रिया केन्द्रीय समिति बैठकपछि टुंगिने बताउनुभयो। साथै, पार्टीको नीति र सिद्धान्तअनुसार संगठनलाई अझ प्रभावकारी बनाउन ध्यान दिन आग्रह गर्नुभयो।

कार्यक्रमको मुख्य आकर्षण जनसांगीतिक प्रस्तुति, देउडा गायन, नृत्य र नाटक थिए। नेपाली कम्युनिस्ट पार्टीका नेता तथा चर्चित जनगायक चिरन पुन (चिरन सि) को जनसांगीतिक प्रस्तुतिले उपस्थित सबैलाई क्रान्तिकारी भावनाले उत्साहित बनायो। त्यसैगरी, कर्णालीकी सर्वाधिक चर्चित  गायिका इब्सल सन्ज्यालको देउडा प्रस्तुतिले कार्यक्रमलाई थप रंगीन बनायो। उनको मिठो स्वर र लोकलयमा प्रस्तुत देउडा गीतहरूले परम्परागत संस्कृति र समाजवादी सन्देशलाई जोडेको थियो।
रेडफोर्सका युवाहरूले छमछमी नृत्य, नाटक र अन्य सांस्कृतिक प्रस्तुतिमार्फत चेतना, साहस, परिवर्तन र समाजवादी मूल्यहरूलाई जीवन्त बनाए। प्रस्तुत नाटकहरूले सामाजिक जागरण र परिवर्तनको आवश्यकतालाई प्रभावकारी रूपमा चित्रण गरेका थिए। प्रचण्डले नाटकको विशेष प्रशंसा गर्दै भन्नुभयो, “तपाईंहरूले गर्नुभएको नाटक निकै मेहनत गरिएको रहेछ। तपाईंहरूको उत्साहका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु।”
तर उहाँले एउटा महत्वपूर्ण सुझाव पनि दिनुभयो, “कता कता यो कार्यक्रम माओवादी र प्रचण्ड केन्द्रित बनाउनुभएको जस्तो लाग्यो। अहिले माओवादी केन्द्रित होइन, नेपाल कम्युनिस्ट पार्टी केन्द्रित हुन आवश्यक छ। किनकि हिजोको माओवादी समाजवादीसहित सत्रवटा घटकहरू यसमा समाहित भइसकेका छन्। तपाईंहरूले यो कुरालाई हेक्का राख्नुहोस्। निकै अफठ्यारो अवस्थामा जेनजी आन्दोलनका दगभ्रमहरू चिर्न सफल भएको कुरा म उच्च सम्मान गर्छु।”

प्रचण्डले नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्थाबारे विस्तृत प्रकाश पार्नुभयो। “हिजोको नेकपा माओवादी केन्द्र मात्र होइन, ठूला र साना समाजवादी घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टीको रूपान्तरण भइसकेको छ। अब सबै कार्यक्रम नेपाली कम्युनिस्ट पार्टी केन्द्रित हुनुपर्छ,” उहाँले स्पष्ट पार्नुभयो।
युवा नेतृत्वलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाउँदै प्रचण्डले मुस्कान खट्काको उदाहरण दिँदै भन्नुभयो, “निर्वाचनमा होस् युवा वा नव युवा जो जेनी युवाको रूपमा चिनिन्छ, उनीहरूलाई उच्च प्राथमिकता राखेका छौं। तपाईंहरूको अगाडि जो एउटा जेनी युवा हुनुहुन्छ, मुस्कान खातुन ,जो एउटा ठूलो पीडाबाट गुज्रिनुभयो, जसलाई राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा  पनि एउटा साहसी युवाको रूपमा सम्मानित हुनुभयो। उहाँलाई अघि सारेर हजारौं र लाखौं युवालाई सम्बोधन गर्न खोजेका छौं। आउँदा दिनमा हामी प्रत्यक्ष वा समानुपातिकमा र क्षेत्रीय कमिटी समेटेर लानेछौं। यो महत्त्वपूर्ण भूमिका हो र तपाईंहरूले यो कार्य सफलतापूर्वक पूरा गर्दै आउनुभएको छ।”

कार्यक्रममा युवा, विद्यार्थी र सामाजिक अभियन्ताहरूको बाक्लो उपस्थिति थियो। इब्सल सन्ज्यालको देउडा, चिरन पुनको जनगायन, युवाहरूको नृत्य र नाटकले सामाजिक जागरण र परिवर्तनको सन्देश प्रभावकारी रूपमा प्रेषित गरेको आयोजकहरूले बताएका छन्।
कार्यक्रमको अन्त्यमा प्रचण्डले भन्नुभयो, “यो विशेष परिस्थितिमा तपाईंहरूले खेलेको भूमिका र जेनजी युवा नेतृत्वको योगदानका लागि म रेडफोर्स र केन्द्रीय समितिलाई विशेष धन्यवाद दिन्छु। तपाईंहरूले नेपाली कम्युनिस्ट पार्टीको सिद्धान्त र नीति अनुसार कार्यक्रम सञ्चालन गर्नुभएको छ। आगामी दिनमा पनि यस्ता भव्य कार्यक्रमहरू निरन्तर सञ्चालन गर्नेछौं।”
यो कार्यक्रमले सांगीतिक प्रस्तुति, देउडा गायन, नृत्य र नाटकमार्फत चेतना, साहस, समाजवादी मूल्य र युवा नेतृत्वको महत्व उजागर गर्दै नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ उचाइ थपेको छ। जेनजी पुस्तालाई पार्टीको मूलधारमा ल्याउने यो अभियानले समाजवादी लक्ष्यतर्फ नयाँ गति प्रदान गर्ने अपेक्षा गरिएको छ।

LEAVE A REPLY