
तामाङ पत्रकार संघको २२औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न


काठमाडौँ, मंसिर २१ ।
तामाङ पत्रकार संघको २२औँ स्थापना दिवस राजधानीमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङको प्रमुख आतिथ्यमा भव्यरूपमा सम्पन्न भएको छ। पत्रकारिता पुरस्कार वितरणदेखि अन्तर्क्रिया र रक्तदानजस्ता सामाजिक उत्तरदायित्व बोकेका कार्यक्रमहरूले समारोहलाई अझ अर्थपूर्ण बनाएका थिए।
समारोहमा संघका संस्थापक अध्यक्ष रुद्र सिंह तामाङले संघको यात्रा समुदाय, पहिचान र सकारात्मक परिवर्तनसम्बन्धी आवाजलाई शक्तिशाली रूपमा स्थापित गर्दै अघि बढिरहेको बताए। उनले भने, “तामाङ पत्रकार संघको आधार नै समाजका मुद्दालाई प्राथमिकतामा राखेर तथ्य र सत्यतामा आधारित पत्रकारिता हो। आगामी दिनमा संघ अझ सशक्त रूपमा अगाडि बढ्नेछ।”
प्रमुख अतिथि मन्त्री कुलमान घिसिङले पत्रकारितालाई लोकतन्त्रको मेरुदण्डको रूपमा उल्लेख गर्दै जिम्मेवारीपूर्ण अभ्यासको आवश्यकता औँल्याए। उनले जोड दिए, “सूचना, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न पत्रकारिताको भूमिका महत्त्वपूर्ण छ। समुदायसँग जोडिएर तथ्यमा आधारित खबर दिने संस्कृतिले मात्र पत्रकारितालाई विश्वसनीय बनाउँछ।”
स्थापना दिवसकै अवसरमा उत्कृष्ट पत्रकार सम्मान प्रदान गरिएको छ। साथै सम्पन्न रक्तदान कार्यक्रमले पत्रकार समुदायको समाजसेवी भूमिकालाई थप उजिल्याएको आयोजकहरूले जनाएका छन्।
कार्यक्रमको समग्र वातावरण उत्साहपूर्ण र सहभागितामूलक रहेकाले सहभागीहरूले संघको २२ वर्षको यात्रा ‘समुदायप्रति समर्पित जिम्मेवारीपूर्ण पत्रकारिता’ को उदाहरण बनेको टिप्पणी गरेका छन्।











