
न्युयोर्कका “मेयर ममदानीको पहिलो भेट : नेपाली म:म: संगै”


अमेरिकाको सबैभन्दा ठूलो सहर न्युयोर्कका नवनिर्वाचित मेयर जोहरान ममदानीले आफ्नो पहिलो दिनको विशेष क्षण नेपाली रेस्टुरेन्ट लालीगुराँस बिस्ट्रोमा म:म: खाँदै बिताएका छन्।
मेयरमा निर्वाचित भएको केही घण्टामै ममदानी अमेरिकी सांसद अलेक्सान्ड्रिया ओकासियो कर्टेज (AOC) सँगै ज्याक्सन हाइट्सस्थित लालीगुराँस बिस्ट्रो पुगेका थिए। नेपाली स्वादप्रति आकर्षित ममदानिले त्यहाँको लोकप्रिय परिकार म:म: को स्वाद चाखेका थिए।
ममदानिले आफ्नो एक्स (पूर्व ट्विटर) खातामा लेखेका छन् —
> “मेयर-निर्वाचितको रूपमा पहिलो व्यस्त दिन: बिहानै अन्तर्वार्ताहरू, संक्रमणकालीन घोषणाहरू र बैठकहरू। यी सबैबारे भोलि विस्तृत रूपमा भनिनेछ। तर आजको उत्कृष्ट क्षण भनेको मेरी कंग्रेसवुमन कर्टेजसँग ज्याक्सन हाइट्सको लालीगुराँस बिस्ट्रोमा लिएको दिउँसोको खाना थियो।”
३४ वर्षीय ममदानी न्युयोर्कको इतिहासमा पहिलो मुस्लिम, पहिलो दक्षिण एसियाली मूलका व्यक्ति, र अफ्रिकामा जन्मिएका पहिलो मेयर बनेका छन्। उनले न्युयोर्क सहरमा विविधता, समावेशिता र आप्रवासी समुदायको प्रतिनिधित्वलाई सशक्त बनाउने प्रतिवद्धता जनाएका छन्।
ममदानिको यस्तो कदमले नेपाली समुदाय र आप्रवासीहरूमा उत्साह थपेको छ।
स्थानीय बासिन्दाहरूले भने, “नयाँ मेयरले नेपाली संस्कृतिको स्वादबाट आफ्नो यात्रा सुरु गर्नु न्युयोर्कको विविधता र सहअस्तित्वको सन्देश हो।”











