
पुरानो नेतृत्वको असफलता अब नराम्रोसँग उदांगियो: नयाँ पुस्ताको राजनीतिक विद्रोह


जन–अधिकारको भीषण हिलाम्मेपनमाथि उठेको जेन–जि आक्रोश
जेन–जि आन्दोलनले तीन महिनादेखि सडक, क्याम्पस र सामाजिक सञ्जालमा उठाइरहेका मागहरू कुनै सीमित वर्गको असन्तोष होइन—यो सम्पूर्ण पुस्ताको चरम असन्तुष्टि, दशकौँदेखिको अविश्वास र निराशाको विस्फोट हो। न्याय, पारदर्शिता र उत्तरदायित्व—तीन ओटा शब्द मात्रै होइनन्, राज्य सञ्चालनको आधारभूत मान्यता हुन्। तर विडम्बना, यिनै आधारलाई सत्ताले बारम्बार कुल्चिँदै आएको छ। यही कारण, यो आन्दोलनले उठाएका प्रश्नहरू जनताको आवाज मात्र होइन, राष्ट्रिय आत्मसम्मानको सवाल बनिसकेको छ।
सत्ताले आन्दोलनलाई दमन गर्ने बाटो रोज्नु भनेको आफ्नो अस्तित्वमाथि नै खन्याइएको आगोमा पेट्रोल थप्नु हो। इतिहासले प्रमाणित गरिसक्यो—जनआवाज दमन गरेर सत्ता टिक्दैन। टिक्दैन। जनतालाई मूर्ख ठान्ने, प्रश्न गर्ने युवालाई अपराधीजस्तो व्यवहार गर्ने र लोकतन्त्रलाई डिलिट गर्न सकिने बटनजस्तो बुझ्ने नेतृत्व स्वयं इतिहासको कारागारमा पुरिन्छ। सत्ताका शक्तिशाली कार्यालयहरू, सत्ताको दम्भ, सुरक्षाकर्मीको घेराबन्दी—यी सबै क्षणिक हुन्। तर सडकमा खडा युवाको आक्रोश, अन्यायविरुद्धको उर्लिएको भुइँचाल—यो दीर्घकालीन शक्ति हो। यही शक्तिले सरकार बनाउँछ, यही शक्तिले भत्काउँछ।
आज जनता खुलेर चेतावनी दिइरहेका छन्—जनअधिकार माथि दमन गर्नेहरूको फैसला अब इतिहासले होइन, जनताले नै गर्छन्। मतपत्र पनि हुन्छ, सडक पनि हुन्छ, आवाज पनि हुन्छ—र ती सबै अन्त्यमा एउटै ठाँउमा पुग्छन्: राजनीतिक कठोर जवाफ। जनताको धैर्यता अब जोडिने होइन, टुट्ने मोडमा छ। सत्ताधारीहरूले बुझ्नैपर्छ—युवाहरूको चिहानमा पुरिएको भरोसा फेरि उठाउन बलपूर्वक दमन होइन, गम्भीर उत्तरदायित्व र वास्तविक सुधार चाहिन्छ।
अबको समय परिवर्तन माग्दैछ—तर पुरानै शैली, पुरानै सोच र पुरानै नेताहरूले यो परिवर्तन सम्भव गर्छन् भन्ने विश्वास अब समाप्त भइसकेको छ। दशकौँदेखि पुरानै अनुहारले व्यवस्था कब्जा गरेको छ, तर उपलब्धि भने राष्ट्रको निरन्तर क्षय, भ्रष्टाचारको संस्थागत विस्तार र बेरोजगारीको महामारी। जेन–जि आन्दोलनले यही पुरातन नेतृत्वलाई प्रश्न गरेको छ: यदि तपाईंहरूले केही गर्न सक्नुहुन्न भने किन अझै कुर्सीमा अडिएका छन्? उत्तर–दायित्व लिने ठाउँमा उनीहरू अझ गहिरो बहाना र आरोपहरूको भिँड जमाइरहेका छन्।
नेपाली राजनीतिले अब नयाँ बाटो लिनैपर्छ। नयाँ सोच, नयाँ दिशा र नयाँ नेतृत्व नै अबको अनिवार्य आवश्यकता हो। परिवर्तनका नाममा मञ्चमा भाषण गर्नेहरूको युग सकियो; अब काम गर्ने, जोखिम उठाउने र पारदर्शिता संस्थागत गर्ने नेतृत्व चाहिएको छ। जेन–जि आन्दोलनले दिएको चेतावनी सरल छ—यदि सत्तामा नयाँ पुस्ता नआए, नयाँ सोचले स्थान नल्याए, यो आन्दोलन केवल आन्दोलनमा सीमित हुँदैन। यो राजनीतिक संरचनाको आधार हल्लाउने शक्तिमा परिणत हुन सक्छ।
सम्पूर्ण राजनीतिक वर्गले बुझ्नुपर्छ—जनताको धैर्यता अन्तिम चरणमा छ। “अब बस भइसके” भन्ने भावनाले देशलाई नयाँ मोडतिर धकेल्दैछ। युवाहरूको आन्दोलन कुनै क्षणिक रोष होइन—यो भविष्यप्रतिको युद्ध हो। र यो युद्धमा जनतालाई हराउन सकिने कुनै शक्ति छैन।











