
“महतको आकस्मिक भ्रमण: विकासको चिन्ता कि चुनावी अभिनय?”


नुवाकोट – रानिपौवा हुँदै ३५ किलोमिटर लामो सडक निर्माणमा गम्भीर लापरबाही देखिएको भन्दै स्थानीयवासी र प्राविधिकले कडा आपत्ति जनाएका छन्। मंसिर २३ गते मंगलबार साँझको निरीक्षणका क्रममा सडक ढलान निर्माणअघि आवश्यक पर्ने ‘सोलिङ’ (ढुङ्गाको आधार तह) नै नराखिएको दृश्य सार्वजनिक भएपछि निर्माणको गुणस्तरमाथि प्रश्न उठेको हो।
स्थानीयहरूले उपलब्ध गराएका तस्बिरमा सडकको अत्यधिक ढलान कटान गरिएको, सुरक्षात्मक पर्खाल अपूरो रहेको र पानी निकास व्यवस्थापन कमजोर रहेको देखिन्छ। ढलानबाट झर्ने माटो थाम्ने ‘रिटेनिङ वाल’ आधा बनाइएको अवस्थामा नै काम अगाडि बढाइएको छ, जसले कुनै पनि बेला सडक भासिने वा ढिस्को खस्ने उच्च जोखिम पैदा गरेको प्राविधिकहरूको भनाइ छ।
उक्त स्थानको स्याटेलाइट नक्सामा पनि सडक र नजिकैका बस्ती जोखिम क्षेत्रमै रहेको पुष्टि हुन्छ। स्थानीयका अनुसार निर्माण कम्पनीले प्राविधिक मापदण्डअनुसारको आधार तह (Sub-base) मजबुत बनाउनुपर्ने ठाउँमा सोलिङ नै राखेको छैन। सोलिङ नगरी गरिएको कंक्रीट ढलानको टिकाउपन अत्यन्त कमजोर हुने तथा केही महिनामै भत्किन सक्ने विज्ञहरू चेतावनी दिन्छन्।
निर्माण सामाग्री अव्यवस्थित रूपमा सडककै छेउछाउ फालिएको, कटान गरिएको भू–भागमा सुरक्षाका न्यूनतम उपाय नअपनाइएकाले निर्माण पक्षले ‘द्रुतगति’ को नाममा सुरक्षा र मापदण्ड दुबै बेवास्ता गरेको स्थानीयको आरोप छ। “जनताको करबाट बनेको सडकमा यस्तो लापरबाही अस्वीकार्य छ,” एक स्थानीयले भने।
यसैबीच, सामाजिक अभियान्ता तथा युवा नेता राजन गौतम (नकुल) ले निरन्तर देखिँदो सतही अनुगमन र ‘मैले–मैले’ संस्कृतिले नुवाकोटको विकासलाई धक्का पुर्याइरहेको टिप्पणी गरेका छन्। “फोटो–सेसन शैलीको निरीक्षणले विकासको परिणाम आउने छैन। अब इमानदार अनुगमन र पारदर्शिता अनिवार्य छ,” उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।
स्थानीयहरूले ककनी गाउँपालिका र सम्बन्धित इन्जिनियरलाई तत्काल निर्माणस्थलको जाँच, गुणस्तर परीक्षण र जिम्मेवार निकायमाथि अनुसन्धान सुरु गर्न माग गरेका छन्। रानिपौवाबाट माथिल्लो र तल्लो भागमा देखिएको निर्माण गुणस्तरको असमानताबारे पनि छानबिन गर्नुपर्ने उनीहरूको आग्रह छ।
सडक निर्माणजस्तो दीर्घकालीन पूर्वाधारमा मापदण्डविपरीतको काम भइरहेमा जनगुनासो बढ्ने र सार्वजनिक धनको दुरुपयोग हुने भन्दै सचेत नागरिकहरूले आवाज उठाइरहेका छन्।











