बारामा तनावः जेनेजीको नाममा घुसपैठ र अराजकतत्व सक्रिय, झडपपछि सिमराको अवस्था तनावग्रस्त ।

0
11

बारा जिल्लामा आज जेनेजी युवाहरूको घुसपैठमार्फत अराजकतत्व सक्रिय हुँदै गएको स्पष्ट देखिएको छ।

स्थानीय राजनीतिक तनाव चुलिँदै गएर नेकपा एमालेका कार्यकर्तासँगको ऽ सम्म पुग्दा वातावरण एकाएक विस्फोटक बन्यो। स्थिति काबु बाहिर जाँदै गर्दा आक्रोशित समूहले सिमरा विमानस्थलको मुख्य गेट भत्काउने कारबाही गर्‍यो, जसले सुरक्षामा गम्भीर चुनौती पैदा गरिदियो।

सुरक्षाका दृष्टिले संवेदनशील मानिने विमानस्थलको मुख्य प्रवेशद्वारमा केवल दुई प्रहरी मात्र तैनाथ थिए। प्रदर्शनकारी युवाहरूले बाहिरबाट गेट धकेल्न थालेपछि प्रहरी रोक्न प्रयत्नरत भए पनि गेट नियन्त्रणमा राख्न सकेनन्। फलामे गेट भाँचिँदै प्रहरीमाथि खस्दा क्षणभरकै लागि सुरक्षामा गम्भीर चुनौती सिर्जना भएको थियो। भत्किएको गेटबाट केही युवाहरू भित्र छिरे पनि केहीबेरमै उनीहरूलाई सुरक्षा बलले नियन्त्रणमा लिई बाहिर निकालेको थियो।

यता, एमाले महासचिव शंकर पोखरेल, नेता महेश बस्नेतलगायतको टोली युवक संघको कार्यक्रमका लागि परवानीपुरतर्फ जाँदै गर्दा सिमरा बजारमै स्थानीय युवाहरू र एमाले समर्थकबीच झडप भएको थियो। यही घटनाक्रमपछि क्षेत्रको सुरक्षा अवस्था झनै बिग्रँदै गएको देखिएको छ।

स्थिति नियन्त्रणबाहिर जान सक्ने आँकलनसँगै दिउँसो १२:३० बजेदेखि राति ८ बजेसम्म जीतपुर–सिमरा उपमहानगरपालिकामा कर्फ्यु आदेश जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले स्थानीय प्रशासन ऐनअनुसार सिमराको मुख्य क्षेत्रलाई ‘नो–मुभमेन्ट जोन’ घोषणा गर्दै सबै प्रकारका सभा–जुलुस, भेला, प्रदर्शन, आवतजावत पूर्ण रूपमा निषेध गरेका छन्।

 

LEAVE A REPLY