बुद्धचोक क्षेत्रमा सेना समेत खटिँदा सडक विस्तार तीव्र,

0
14

हेटौँडामा सडक विस्तार अभियान तीव्र : ५३१ संरचना हटाइने, मुख्य बजार क्षेत्रमा डोजर चल्यो।

मकवानपुर, मंसिर — हेटौँडा बजार क्षेत्रमा शनिबार बिहानैदेखि सडक विस्तारका लागि घर तथा संरचना भत्काउने अभियान तीव्र बनेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मंसिर ५ गते जारी गरेको १५ दिने अल्टिमेटम सकिएपछि बुद्धचोक क्षेत्रबाट डोजर चलाएर संरचना हटाउन थालिएको हो। २५ गजभित्र पर्ने संरचनालाई अनिवार्य रूपमा हटाउनुपर्ने निर्णयअनुसार स्थानीय प्रशासन, प्रहरी र सडक डिभिजनको समन्वयमा ठूलो संख्यामा सुरक्षा व्यवस्था गरी काम सुरु गरिएको हो।

अभियानका दौरान करिब ५ सय सुरक्षाकर्मी, १० भन्दा बढी डोजर तथा जेसीभी परिचालन गरिएको छ। पहिलो चरणमा मकवानपुर उद्योग वाणिज्य संघको कार्यालयसहित बुद्धचोकलगायतका क्षेत्रमा रहेका १५ भन्दा बढी संरचना भत्काइएका छन्। त्रिभुवन राजपथको सडक विस्तार अन्तर्गत २५ मिटर सडक सिमाभित्र निर्माण भएका संरचनालाई हटाउँदै लैजाने डिभिजनले जनाएको छ। प्रमुख बजार क्षेत्रमा कार्य सुरु भएपछि सर्वसाधारणको चहलपहल बढेको छ, त्यस्तै केही प्रभावित स्थानीयले वैकल्पिक व्यवस्था तथा क्षतिपूर्तिको मागसमेत राखेका छन्।

सडक डिभिजनका तथ्यांकअनुसार रातोमाटेदेखि बुद्धचोक हुँदै राप्तीपुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म गरी करिब ९.५ किलोमिटर क्षेत्राधिकारभित्र कुल ५३१ संरचना हटाउनुपर्ने छ। तीमध्ये सडकको केन्द्रबिन्दुबाट दायाँतर्फ २३४ र बायाँतर्फ २९७ संरचना पर्ने जनाइएको छ।

अभियानका क्रममा पूर्वमुख्यमन्त्री तथा एमाले नेता डोरमणि पौडेलको मेन रोड सिमा चोकस्थित पेन्टागन टावर क्षेत्रमा पनि डोजर पुगेको छ। लामो समयदेखि अवरुद्ध बन्दै आएको सडक विस्तारलाई गति दिने उद्देश्यसहित सुरू गरिएको यस अभियानले हेटौँडा बजार क्षेत्रको ट्राफिक सहज बनाउने अपेक्षा गरिएको छ। तर प्रभावित पक्षले क्षतिपूर्ति र पुनःस्थापनाको उचित नीति नभएको गुनासो गर्दै प्रशासनसँग माग राखेका छन्।

LEAVE A REPLY