
बुवाको हत्या आरोपमा छोरा पक्राउ।

बुवाको हत्या आरोपमा छोरा पक्राउ

गोरखा, २४ कार्तिक – आफ्नै बुवाको हत्या गरेको आरोपमा गोरखाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति चुमनुब्री गाउँपालिका–६, चुम्चेतका ३६ वर्षीय रोशन गुरुङ (पेम्बा लामा) रहेका छन्।
काठमाडौं महानगरपालिका–१५, किमाडोल बसोबास गर्दै आएका लामा आइतबार राति पक्राउ परेका हुन्। प्रहरी वृत्त स्वयम्भूका अनुसार उनले आफ्नै बुवा ७८ वर्षीय आमकी लामालाई कुटपिट गरेका थिए। घटनामा गम्भीर घाइते भएका आमकीलाई उपचारका लागि मनमोहन अस्पताल लैजाने क्रममा निधन भएको प्रहरीले जनाएको छ।
बुबाको मृत्यु भएको जानकारी पाएपछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले आरोपित पेम्बा लामालाई घटनास्थल नजिकैबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा घरेलु विवादका कारण बुबा–छोराबीच झगडा भएको खुलेको छ। घटनाको विस्तृत विवरण र कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्वयम्भू प्रहरी वृत्तका एक अधिकारीले भने, “बुबाको निधन पछि छोरालाई तत्काल पक्राउ गरी आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको छ।”
घटनाले स्थानीय क्षेत्रमा शोक र स्तब्धता छाएको छ भने प्रहरीले आवश्यक प्रमाण संकलन र अनुसन्धानका सबै कानूनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।











