
सचेत नागरिक अभियान नेपालको विशेष पहलमा मंगलदेवी विद्यालयका २५० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण।


नुवाकोट, सुर्यगढी — सचेत नागरिक अभियान नेपालको विशेष पहलमा नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघले नुवाकोट जिल्लाको सुर्यगढी गाउँपालिका–१, छापस्थित मंगलदेवी माध्यमिक विद्यालयका २५० विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ।

कार्यक्रम विद्यालयका पूर्व विद्यार्थी तथा नेकपा केन्द्रीय प्रतिनिधि सदस्य जीवन तामाङ (सी) को समन्वयमा सम्पन्न भएको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष बिजेन्द्र विक्रम शाह प्रमुख अतिथि रहेका थिए। शाहले संघले आफ्नो ३६औँ स्थापना दिवसको अवसरमा देशभरका विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण अभियान सञ्चालन गरिरहेको बताउँदै मंगलदेवी विद्यालय पनि सो अभियानको महत्वपूर्ण हिस्सा भएको बताए।
कार्यक्रमका विशेष अतिथि तथा नेकपा केन्द्रीय सदस्य महेन्द्र तामाङ (सी) ले विद्यार्थीहरूलाई प्रेरणादायी सन्देश दिँदै भने, “यो कापी–कलमले तपाईंहरूको मात्र होइन, राष्ट्रको भविष्य पनि लेखियोस्।” उनले अध्ययनलाई जीवनको अभिन्न हिस्सा बनाउँदै अनुशासन र इमानदारीका साथ अघि बढ्न विद्यार्थीहरूलाई आग्रह गरे।
निवर्तमान अध्यक्ष निमनाथ दाहालले संघले भौतिक सामग्रीसँगै ज्ञान र चेतनाको उज्यालो बाँडिरहेको उल्लेख गरे। अर्का अतिथि रघु पण्डितले अध्ययनले जीवनको दिशा परिवर्तन गर्ने भन्दै लक्ष्य–केन्द्रित भएर अघि बढ्न विद्यार्थीहरूलाई प्रेरित गरे।
पूर्व विद्यार्थी जीवन तामाङ (सी) ले आफूले अध्ययन गरेको विद्यालयमा पुनः योगदान दिन पाउँदा गर्व महसुस गर्दै भने, “शिक्षकहरू मैनबत्ती जस्तै हुन् — आफू जलेर अरूलाई उज्यालो दिने।

विद्यालयका प्रमुख दत्त प्रसाद न्यौपानेले सामग्री सदुपयोग गरिने प्रतिबद्धता जनाउँदै निरन्तर सहयोगको अपेक्षा व्यक्त गरे।
कार्यक्रमको समापनमा अध्यक्ष दिनेश तामाङले सबै सहयोगी संस्था, अतिथि र अभियन्ताप्रति धन्यवाद ज्ञापन गरे।












