मध्यपूर्व तनावप्रति प्रचण्डको चिन्ता : नेपालीको सुरक्षामा उच्च सतर्कता अपनाउन सरकारसँग आग्रह

0
18

आइतबार, १७ फागुन  :    मध्यपूर्व तनावप्रति प्रचण्डको चिन्ता : नेपालीको सुरक्षामा उच्च सतर्कता अपनाउन सरकारसँग आग्रह
मध्यपूर्व क्षेत्रमा इरानमाथि अमेरिका र इजरायलबाट भएका आक्रमण तथा त्यसपछिका विकसित घटनाक्रमले क्षेत्रीय सुरक्षा अवस्थालाई झन् जटिल बनाएको भन्दै नेपाली  कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड ले गहिरो चिन्ता व्यक्त गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आफ्नो धारणा व्यक्त गर्दै उहाँले मध्यपूर्वमा उत्पन्न तनावले त्यहाँ कार्यरत लाखौं नेपाली नागरिकको सुरक्षामा प्रत्यक्ष असर पार्न सक्ने सम्भावनाप्रति ध्यानाकर्षण गराउनुभएको छ। उहाँले यस्तो संवेदनशील परिस्थितिमा विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्नु राज्यको पहिलो दायित्व भएको उल्लेख गर्नुभएको छ।
प्रचण्डले विशेषगरी खाडी मुलुक तथा अन्य मध्यपूर्वी देशहरूमा रोजगारीका लागि गएका नेपालीहरू हालको विकसित परिस्थितिबाट प्रभावित हुन सक्ने भएकाले नेपाल सरकारले तत्काल उच्च सतर्कता अपनाउनुपर्ने बताउनुभएको छ। उहाँले आवश्यक कूटनीतिक पहलमार्फत सम्बन्धित देशहरूसँग निरन्तर समन्वय गर्न र त्यहाँ रहेका नेपालीहरूको अवस्था बारे अद्यावधिक जानकारी संकलन गर्न सरकारलाई आग्रह गर्नुभएको छ।
यस्तै, सम्भावित जोखिमलाई मध्यनजर गर्दै आपतकालीन उद्धार, सम्पर्क तथा सुरक्षासम्बन्धी संयन्त्रहरू सक्रिय अवस्थामा राख्नुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभएको छ। कुनै पनि नेपाली नागरिकको ज्यान तथा सुरक्षामा आँच आउन नदिन प्रभावकारी तयारी गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।
प्रचण्डले यस्तो जटिल अन्तर्राष्ट्रिय परिस्थितिमा नेपाल सरकारले जिम्मेवार र संवेदनशील भूमिका निर्वाह गर्दै विदेशस्थित नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता पुनः स्मरण गराउनुभएको छ।

LEAVE A REPLY