
रौतहटका चार नगरपालिकाले पूर्वमन्त्री मोहम्मद आफताब आलमको निधनमा शोक बिदा घोषणा।


रौतहट, कात्तिक २४ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको निधनमा रौतहटका चार नगरपालिकाले आइतबार शोक बिदा दिएका छन्।
राजपुर, परोहा, ईशनाथ र बौधीमाई नगरपालिकाले आइतबारका लागि शोक बिदा घोषणा गर्दै आफ्ना सम्पूर्ण कार्यालय, विद्यालय तथा मातहतका संस्थाहरू बन्द रहने जनाएका छन्। नगरपालिकाहरूले सार्वजनिक सूचना जारी गर्दै दिवंगत नेता आलमप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्।
पूर्वमन्त्री आलमको उपचारका क्रममा शनिबार साँझ काठमाडौं मेडिकल कलेजमा निधन भएको हो। ५७ वर्षीय आलम केही समयदेखि स्वास्थ्य समस्याबाट पीडित थिए। उनी उपचारका लागि काठमाडौं लगिएका थिए तर चिकित्सकले उनको जीवन बचाउन नसकेका हुन्।
आलम नेपाली कांग्रेसका पुराना नेता थिए। उनले वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। पार्टीभित्र मुस्लिम समुदायको प्रभावशाली नेतृत्वको रूपमा उनी परिचित थिए। रौतहट–२ बाट प्रतिनिधिसभा सदस्य रहिसकेका आलम लामो समयदेखि रौतहटको राजनीति र कांग्रेस संगठनमा सक्रिय थिए।
उनको निधनसँगै रौतहटमा शोकको वातावरण बनेको छ। स्थानीय नेताहरू, कार्यकर्ता र सर्वसाधारणले उनलाई निष्ठावान र अनुभवी राजनीतिज्ञको रूपमा स्मरण गरेका छन्। विभिन्न राजनीतिक दलका नेताहरूले पनि आलमको योगदानको कदर गर्दै शोक संवेदना प्रकट गरेका छन्।
नगरपालिकाहरूले आइतबार झण्डा आधा झुकाएर सम्मान गर्ने र सार्वजनिक कार्यक्रमहरू स्थगित गर्ने निर्णय समेत गरेका छन्।











