
शिन्जो आबेको हत्यामा संलग्न तेत्सुया यामागामीलाई आजीवन कारावासको सजाय


शिन्जो आबेको हत्यामा संलग्न तेत्सुया यामागामीलाई आजीवन कारावासको सजाय
टोकियो, माघ ७ ।
जापानको एक अदालतले पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्यामा संलग्न रहेका ४३ वर्षीय तेत्सुया यामागामीलाई आजीवन कारावासको फैसला सुनाएको छ। लामो समयको कानुनी प्रक्रिया र मानसिक स्वास्थ्य परीक्षणपछि आज अदालतले उक्त अन्तिम फैसला सुनाएको हो।
सन् २०२२ जुलाई ८ मा जापानको नारा सहरमा चुनावी सभालाई सम्बोधन गरिरहेका बेला आबेमाथि घरेलु बन्दुकले गोली प्रहार गरिएको थियो। गोली लागेको केही घण्टापछि उपचारका क्रममा आबेको निधन भएको थियो। सोही स्थानबाट पक्राउ परेका यामागामीले आफ्नो परिवार आर्थिक रूपमा बर्बाद हुनुमा ‘युनिफिकेसन चर्च’ जिम्मेवार रहेको र आबेले उक्त संस्थालाई प्रवर्द्धन गरेको आरोप लगाउँदै बदला लिन हत्या गरेको स्वीकार गरेका थिए।
जापानको सरकारी वकिलको कार्यालयले यामागामीलाई मृत्युदण्डको माग गरे तापनि उनको पारिवारिक पृष्ठभूमि, मानसिक अवस्था र उनले व्यक्त गरेको पश्चात्तापलाई मध्यनजर गर्दै अदालतले आजीवन कारावासको विकल्प रोजेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
जापानमा पूर्वप्रधानमन्त्री जस्तो उच्च व्यक्तित्वको हत्या भएको यो घटनाले विश्वभर ठूलो धक्का पुर्याएको थियो। यस फैसलाले जापानमा हतियार नियन्त्रण र राजनीतिक व्यक्तिहरूको सुरक्षा सम्बन्धी कानुनमा थप बहस सिर्जना गरेको छ।











