
सुमन सायमीको राजनीतिक ‘यू-टर्न’: दलबलसहित नेकपामा प्रवेश, आगामी निर्वाचन जित्ने दाबी


सुमन सायमीको राजनीतिक ‘यू-टर्न’: दलबलसहित नेकपामा प्रवेश, आगामी निर्वाचन जित्ने दाबी
काठमाडौं । काठमाडौंको स्थानीय राजनीति र सम्पदा आन्दोलनमा प्रभावशाली पहिचान बनाएका नेता सुमन सायमी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
बिहीबार आयोजित एक विशेष कार्यक्रमका बीच सायमी आफ्ना सयौँ समर्थक र दलबलसहित औपचारिक रूपमा नेकपामा समाहित भएका हुन्।
पार्टी प्रवेशपछि सञ्चारकर्मीहरूसँग बोल्दै सायमीले देशको विकास र समृद्धिका लागि बलियो राजनीतिक शक्ति आवश्यक रहेको महसुस गरेर आफूले यो कदम चालेको बताए। उनले भने— “अहिलेसम्म धेरै प्रयासहरू भए, तर अबको आवश्यकता भनेको देश बनाउने भिजन भएको पार्टी हो। नेकपाले त्यो सपना पूरा गर्ने आधार देखेरै म यो अभियानमा जोडिएको हुँ।”
स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा चर्चामा आएका सायमीले अबको आम निर्वाचनमा नेकपाको तर्फबाट प्रतिस्पर्धा गर्ने संकेत गरेका छन्। आगामी चुनावका लागि आफू पूर्ण तयार रहेको र जनताको साथले निर्वाचन जित्नेमा आफू ढुक्क रहेको उनले उद्घोष गरे।
सायमीको आगमन र नेकपाको रणनीति
आफ्नो मौलिक एजेन्डा र विशेषगरी काठमाडौंको नेवाः सभ्यता तथा सम्पदा संरक्षणको मुद्दा उठाउँदै आएका सायमीको प्रवेशले नेकपालाई शहरी क्षेत्रमा थप बलियो बनाउने विश्लेषण गरिएको छ। उनीसँगै ठूलो संख्यामा युवा र स्थानीय अभियन्ताहरू पनि पार्टी प्रवेश गरेका छन्, जसले आगामी ४९ दिनपछिको निर्वाचनमा समीकरण बदल्न सक्ने देखिएको छ।











