
हिसान तारकेश्वर फुटसल प्रतियोगिता–२०८२ सुरु, विद्यार्थीबीच कडा प्रतिस्पर्धा


हिसान तारकेश्वर फुटसल प्रतियोगिता–२०८२ सुरु, विद्यार्थीबीच कडा प्रतिस्पर्धा
तारकेश्वर । सेक्रेड हार्ट माध्यमिक विद्यालयको संयोजनमा सेक्रेड हार्ट माध्यमिक विद्यालयको फुटसल मैदानमा हिसान तारकेश्वर छात्र–छात्रा फुटसल प्रतियोगिता–२०८२ आज मंसिर ५ गतेदेखि औपचारिक रूपमा सुरु भएको छ। बिहान ९ बजे उद्घाटन गरिएको यस प्रतियोगितामा तारकेश्वर नगरपालिकाभित्र कक्षा ११ र १२ सञ्चालन गर्ने हिसानअन्तर्गतका विभिन्न विद्यालयको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।
दिनभर चलेको लिग चरणको प्रतिस्पर्धामा छात्रातर्फ ७ टोली र छात्रतर्फ ८ टोली सहभागी भएका थिए। तीव्र र आकर्षक खेलबाट आजकाे नतिजा अनुसार छात्रातर्फ प्रारम्भ वर्ल्ड स्कुल विजेता र लालिगुराँस राष्ट्रिय प्रतिष्ठान उपविजेता बने भने ल्याण्डमार्क प्रतिष्ठान विजेता र हिमरश्मि प्रतिष्ठान उपविजेता बने। त्यस्तै छात्रतर्फ कौशल माध्यमिक विद्यालय विजेता र सिर्जना ज्ञानसागर माध्यमिक विद्यालय उपविजेता बनेका छन्। अर्को खेलमा प्रारम्भ वर्ल्ड स्कुल विजेता रहँदा ल्याण्डमार्क प्रतिष्ठान उपविजेता हुन सफल भयो।
प्रतियोगिताका सेमिफाइनल तथा फाइनल खेलहरू भोलि मंसिर ६ गते बिहान ११ बजेदेखि सेक्रेड हार्ट माध्यमिक विद्यालय, तारकेश्वर–४ शेषमतीस्थित फुटसल मैदानमै सञ्चालन हुने कार्यक्रम संयोजक तथा विद्यालयका प्रिन्सिपल बद्रीनाथ भट्टले जानकारी दिनुभयो। फाइनल खेल पश्चात् पुरस्कार वितरण कार्यक्रम सोही दिन दिउँसो २ बजे जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख डा. समन्तमणि आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ। “सर्वाङ्गीन विकासको एउटा पक्ष : खेलकुद” भन्ने मूल आदर्शलाई आत्मसात गर्दै आयोजना गरिएको यस प्रतियोगितामार्फत प्रतिस्पर्धामा सहभागी विद्यार्थी तथा सदस्य विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थी अनुशासित, सहयोगी र बहुमुखी क्षमतायुक्त बन्ने विश्वास हिसान तारकेश्वरले व्यक्त गरेको छ।











