काठमाडौँ महानगरभित्र फोहर र प्लास्टिकजन्य बस्तु बाल्न पूर्ण प्रतिबन्ध।

0
11

काठमाडौँ महानगरभित्र फोहर र प्लास्टिकजन्य बस्तु बाल्न पूर्ण प्रतिबन्ध

काठमाडौँ – काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले शहरभित्र खुला स्थानमा प्लास्टिक, प्लास्टिकजन्य बस्तु तथा फोहर बाल्न प्रतिबन्ध लगाएको छ। चिसो बढेसँगै खुला ठाउँमा फोहर र प्लास्टिक बाल्ने क्रम बढेकाले वायु प्रदूषण नियन्त्रणका लागि यस्तो निर्णय गरिएको विभागले जनाएको छ।

विभागका प्रमुख सरिता राईले भनिन्, “जनस्वास्थ्य र वातावरणमा पर्ने प्रतिकुल प्रभाव घटाउन यस्तो कदम चालिएको हो। वायु प्रदूषण विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, दम र खोकीका बिरामी, मुटुका रोगी र दीर्घ रोगसँग संघर्ष गरिरहेका व्यक्तिहरूलाई बढी असर गर्छ।”

महानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ कि खुला रूपमा फोहर वा प्लास्टिकजन्य वस्तु फाल्नेहरूलाई प्रति पटक १० हजार रुपैयाँसम्म जरिवाना लाग्नेछ। यस कारबाहीको आधार काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७आर्थिक ऐन, २०८२ रहेको विभागले स्पष्ट पारेको छ।

सरिता राईका अनुसार, जाडो महिनामा वायु प्रदूषणको स्तर अत्यधिक बढ्ने भएकाले, सबै सहरबासीलाई स्वास्थ्य र वातावरण जोगाउने जिम्मेवारीमा सचेत रहन आग्रह गरिएको छ। यसैबीच, महानगरले सार्वजनिक स्थानमा फोहर व्यवस्थापनका लागि नियमित अनुगमन र निगरानी बढाउने योजना बनाएको छ।

विभागले नागरिकसँग अपिल गर्दै भनेको छ, “खुला रूपमा फोहर वा प्लास्टिकजन्य वस्तु जलाउँदा उत्पन्न हुने धुँवाले वायु प्रदूषणमा वृद्धि मात्र गर्दैन, स्वास्थ्यमा दीर्घकालीन असर पुर्‍याउँछ। त्यसैले नियमको पालना गर्नु अनिवार्य छ।”

यो निर्णय काठमाडौँ उपत्यकामा वायु प्रदूषण नियन्त्रण र वातावरण संरक्षणका लागि थप कदमको रूपमा लिइएको छ। नागरिकहरूले नियमको पालना गरेर स्वच्छ र सुरक्षित वातावरण सुनिश्चित गर्नुपर्ने महानगरले जोड दिएको छ।

 

LEAVE A REPLY