८० ठाउँमा सामूहिक खेती : विप्लवको आत्मनिर्भर मोडेल।

0
15

समाचार
हालै निर्वाचन आयोगमा नेकपा (माओबादी) को नाममा दल दर्ता गरी  गुलाफको फूल’ चुनाव चिह्न प्राप्त गरेका नेत्रविक्रम चन्द ‘विप्लवको शो पार्टीका नेता कार्यकर्ता  अहिले देशभर ‘उत्पादन क्रान्ति’को अभियानमा व्यापक रूपमा उत्रिएका छन्।

राजनीतिक गतिविधिका साथ–साथै पार्टीले आफ्नो संरचना, कार्यशैली र सामाजिक भूमिकालाई पूर्ण रूपमा बदल्दै कृषिलाई केन्द्रमा राखेर आत्मनिर्भर अर्थतन्त्र निर्माणमा ध्यान केन्द्रित गरेको छ। देशका विभिन्न जिल्लामा बाँझो जग्गा भाडामा लिएर सामूहिक खेती, पशुपालन तथा लघु उद्योग स्थापना गर्दै पार्टीले हाल करिब ८० स्थानमा प्रत्यक्ष उत्पादन गतिविधि सञ्चालन गरिरहेको छ।

,उक्त पार्टीले कपिलवस्तु शिवगढीमा तीन बिघामा खाद्यान्न बाली, अर्घाखाँची शीतगंगामा १५० रोपनीमा गाई–कुखुरा तथा तरकारी–फलफूल खेती, रोल्पाको घर्तीगाउँमा १५ रोपनीमा आलु–लसुन, दाङको घोराही १६ मा ६ बिघामा कृषि फार्म, बेलझुण्डीमा २५ बिघा खेती (५ बिघामा माछापालन), सल्यानमा १३ रोपनी कागती, र बर्दियामा धानखेती सञ्चालन गरिरहेको विवरण सार्वजनिक गरीसकेको छ।

यसबाहेक चितवनको माडीमा १५ बिघा जग्गा ९ वर्षका लागि भाडामा लिएर ६ बिघामा माछापालन, ५ बिघामा चैते धान र बाँकी क्षेत्रमा मकै, तोरी, आलु तथा मौरीपालन गरिएको पार्टी    उत्पादन विभागले जनाएको  छ।

किसानले किनबेच गर्ने परम्परागत मोडेलभन्दा फरक ढंगले—पार्टीले सिलाइ–कटाइ, कपाल काट्ने, पानीपुरी बेच्ने, गार्मेन्ट उत्पादन, सफाइ सामग्री उत्पादन जस्ता साना उद्योगमा पनि कार्यकर्ता संलग्न गराएको छ। राजधानीसहित प्रमुख शहरहरूमा आफ्नै मार्ट (ठूला पसल) संचालन गर्ने तयारी भइरहेको छ।

पार्टी संरचनाभित्र अहिले ७ केन्द्रीय उत्पादन ब्यूरो, २२ उत्पादन ब्यूरो, ४१ जिल्ला इकाइ, ७ जनवर्गीय संरचना र ३ विभागीय इकाइ मार्फत उत्पादन सञ्चालन छ। करिब ३०० भन्दा बढी नेता–कार्यकर्ता प्रत्यक्ष कृषिमा खटिएको बताइन्छ। सामूहिक खेतीबाट आएको आम्दानीको ६० प्रतिशत पार्टी केन्द्रमा, बाँकी ४० प्रतिशतलाई आधार मानेर ७० प्रतिशत कार्यकर्ता, ३० प्रतिशत सञ्चालन खर्च राखिने वित्तीय मोडेल अपनाइएको छ।

विगत वर्षदेखि जुम्ला–कालीकोटमा १,५०० स्याउका बिरुवा रोप्ने अभियानमा महासचिव विप्लव स्वयं सहभागी भए। अर्को वर्षसम्म १० हजार स्याउका बोट, २२ हजार वर्गमिटर स्याउ क्षेत्रफल विस्तार गर्ने लक्ष्य छ।

पार्टीले असार १०–३० लाई ‘श्रम दिवस’ घोषित गर्दै हरेक नेता–कार्यकर्तालाई आफ्नो, समुदायको वा पार्टीको खेतमा गएर श्रमदान गर्न अनिवार्य नीति लागू गरेको छ। हरेक दुई महिनामा एक दिनको पारिश्रमिक पार्टीलाई उपलब्ध गराउनुपर्ने निर्णयले पार्टीभित्र ‘आत्मनिर्भर–संगठन’को अभ्यासलाई बलियो बनाएको कार्यकर्ताहरू बताउँछन्।

राजनीतिक रूपमा पनि पार्टी गतिशील छ। निर्वाचन आयोगमा दर्ता भई ‘गुलाफको फूल’ चुनाव चिह्न प्राप्त गरेपछि विप्लवले  उत्पादन अभियानलाई संगठन विस्तारसँगै अगाडि बढाउने घोषणा गरेको छन्।

सामुहिक  कृषि  उत्पादन गर्न थालेपछि चन्दा माग्नुपर्ने अवस्था हटेको र पार्टीभित्र आशा, विश्वास र आत्मनिर्भरताको नयाँ बीउ उम्रिएकोले अरू दलले पनि यसरी कृषिलाई प्राथमिकता दिने हो भने देश आत्मनिर्भर तर्प जाने शो पार्टीका नेताहरू बताउँछन् ।  यसै क्रममा विप्लप नेतृत्वको  यो अभियान राजनीतिक प्रचार भन्दा बढी व्यवहारिक आत्मनिर्भरता, सामूहिक श्रम र उत्पादन–आधारित सामाजिक परिवर्तनतर्फ उन्मुख नयाँ अभ्यासको रूपमा हेरिँदैछ।

LEAVE A REPLY