बिदुर खानेपानी चुनावमा जेनजी प्रभाव : सचिवतर्फ रघुनाथ रिमाल अग्रता कायम।

0
41

बिदुर, नुवाकोट ।
बिदुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको शनिबार सम्पन्न निर्वाचनपछि मतगणना तीव्र गतिमा जारी छ। कुल २३४६ मत मध्ये हालसम्म ८४८ मत गणना सम्पन्न भइसकेको छ। यो निर्वाचनमा सञ्जीव श्रेष्ठ नेतृत्वको कांग्रेस–एमाले गठबन्धन प्यानल र हरिशरण गजुरेल नेतृत्वको स्वतन्त्र प्यानलबीच प्रत्यक्ष प्रतिस्पर्धा भइरहेको छ।

पछिल्लो मतगणना परिणामअनुसार अध्यक्ष पदमा कांग्रेस–एमाले गठबन्धनका सञ्जीव श्रेष्ठले आफ्नो अग्रता झन् सुदृढ बनाएका छन्। उनले हालसम्म ५२६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी हरिशरण गजुरेलले २२६ मत ल्याएका छन्। अध्यक्षतर्फको मतान्तर धेरै भएकाले श्रेष्ठको विजय सम्भावना बलियो देखिन थालेको स्थानीयको टिप्पणी छ।

तर सचिव पदमा भने भिन्नै तस्वीर देखिएको छ। स्वतन्त्र जेनजी समूहका रघुनाथ रिमाल निरन्तर अग्रस्थानमा छन्। उनले हालसम्म ३६३ मत प्राप्त गरेका छन्। गठबन्धनतर्फबाट सचिवका उम्मेदवार अच्युतराज महन्त गिरीले ३४१ मत ल्याएका छन्। मतान्तर २२ पुगेपछि सचिव पदमा स्वतन्त्र प्यानलको पकड बलियो बन्दै गएको छ।

उपाध्यक्ष पदमा पनि रोचक प्रतिस्पर्धा देखिएको छ। गठबन्धनका नवीन प्रधानले ३८० मत प्राप्त गर्दै अग्रता बनाइरहेका छन् भने स्वतन्त्रका राजेन्द्र पाण्डेले ३३९ मत ल्याएका छन्। दुवैबीचको मतान्तर धेरै ठूलो नभएकाले अन्तिम परिणामले उल्टो मोड लिन सक्ने अनुमान गर्दै मतदाताहरू उत्सुक छन्।

यस्तै कोषाध्यक्ष पदमा गठबन्धनकी अम्बिका चित्रकार खनालले ४५५ मत प्राप्त गर्दै ठूलो अग्रता बनाएकी छन्। उनका प्रतिस्पर्धी स्वतन्त्र प्यानलकी संगीता कोइरालाले २५१ मत पाएकी छन्। कोषाध्यक्ष पदमा २०४ मतको फराकिलो अन्तर देखिएको छ, जसले गठबन्धनको पकड मजबुत रहेको संकेत गर्छ।

निर्वाचन समितिका अनुसार बाँकी मतगणना निरन्तर चलिरहेकाले आजै दिउँसोभित्र अन्तिम परिणाम सार्वजनिक गरिने छ। समितिको आगामी नेतृत्व कसको हातमा जाने भन्ने उत्सुकतासहित स्थानीयहरू मतगणनाप्रति नजिकैबाट निगरानी गरिरहेका छन्।

LEAVE A REPLY