
माङमालुङ चिया बगानमा १५ करोड घोटला ,तुरुन्तै कारबाही गर्न नवल खड्काको कडा माग


काठमाडौं । माङमालुङ चिया बगानमा वर्षौंदेखि सञ्चालकहरूले गरेको आर्थिक अनियमितता, नीतिगत अपारदर्शिता र योजनाबद्ध रूपमा बगान डुबाउने गतिविधि बाहिरिएपछि शेयरधनीहरू न्यायका लागि अदालत धाउन बाध्य भएका छन्। राजधानीमा पत्रकार सम्मेलन गर्दै पीडितहरूले गिरिबन्धु टी–स्टेटको जस्तै श्रृंखलाबद्ध ढंगमा बगान सकाउने षड्यन्त्र भइरहेको आरोपसमेत लगाए।
शेयरधनीहरूका अनुसार अध्यक्ष किरण राई, कार्यकारी निर्देशक केदार लामिछाने, केन्द्र प्रसाई र मनिकुमार भण्डारीको समूहले विधिसम्मत प्रक्रिया नअपनाई करिब ८० रोपनी बगान क्षेत्र गैरकानुनी रूपमा विक्री गरेको खुलासा भएको छ। बगान बचाउ अभियानका संयोजक हिमाल राईले ‘माई होम माई गार्डेन’ नामक योजनामा सयौँ व्यक्तिबाट रकम उठाएर पनि त्यसको आधिकारिक अभिलेख नराखिएको जनाउँदै यसलाई ठूलो आर्थिक स्क्यान्डलको प्रारम्भिक रूप भएको बताए।
२०७२/७३ देखि २०७८/७९ सम्मका लेखापरीक्षण विवरणमा मात्रै ९ करोड २१ लाख रूपैयाँ बराबरको आर्थिक अपारदर्शिता भेटिएको पाँच सदस्यीय छानबिन समितिको प्रतिवेदन संस्थापक शेयरधनी बिबि राईले सार्वजनिक गरे। उनका अनुसार प्रतिवेदन बुझाएपछि पनि सञ्चालकले गल्ती सच्याउनेजस्तो कुनै संकेत नदेखाई उल्टै अनियमितता झन् बढाएको छ।
यहीबीच, शेयरधनी नवल खड्काले सबैभन्दा कडा आपत्ति जनाउँदै कम्पनीका प्रमुख आर्थिक गतिविधि बैंकिङ प्रणाली बाहिर संचालन गरिएको, मजदुरी भुक्तानीदेखि चेक निकासा र लेखा परीक्षणसम्मका सबै प्रक्रियामा मनपरी प्रवृत्ति अपनाइएको आरोप लगाए। उनले भने, “हाम्रो पटक–पटकको आग्रहलाई अवहेलना गर्दै १५ करोडभन्दा बढी रकम नीतिगत रूपमा अपचलन गरिएको देखिन्छ। अब भ्रष्ट सञ्चालकमाथि कानुनी कारबाहीबिनाका विकल्प छैन।”
उनले कम्पनी सचिव, कर्मचारी नियमावली र लेखा व्यवस्थापनजस्ता आधारभूत संरचना नै नबनाई बगानलाई जानी–जानी कमजोर बनाइएको दाबी गर्दै तत्काल सरकारी निकायले हस्तक्षेप गर्नुपर्ने माग गरे।
लगानीकर्ताहरूको दीर्घकालीन उद्देश्य माङमालुङबाट उत्पादित प्राकृतिक अर्थोडक्स चियालाई अन्तर्राष्ट्रिय बजारमा मजबुत ब्रान्डका रूपमा स्थापित गर्नु रहेको बताउँदै शेयरधनी हरिविक्रम राईले भने, “सञ्चालकहरूको अनियमितताले कम्पनीलाई नै बर्बाद बनाउने दिशामा पु¥याइरहेको छ, अब न्यायालयबाटै कम्पनी बचाइनेछ।”
शेयरधनीहरूले सम्बन्धित निकायलाई तत्काल छानबिन, कारबाही र बगान जोगाउन आवश्यक कदम चाल्न आग्रह गर्दै माङमालुङ चिया बगान बचाउन अदालतसम्म जाने संघर्ष अझ कडा बनाउने चेतावनी दिएका छन्।











