“अर्थतन्त्र सुदृढ बनाउन विज्ञान–प्रविधिलाई जोड्नुपर्छ : मन्त्री महावीर पुन”

0
14

काठमाडौं — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालले दिगो आर्थिक समृद्धि हासिल गर्न विज्ञान तथा वैज्ञानिक अनुसन्धानलाई प्रत्यक्ष रूपमा अर्थतन्त्रसँग जोड्नुपर्ने आवश्यकता औँल्याएका छन्।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) द्वारा आयोजित ४३औँ वार्षिकोत्सव विशेष पुरस्कार वितरण समारोहमा मन्त्री पुनले भने, “विज्ञान र प्रविधि क्षेत्रमा पर्याप्त लगानी नहुनु, अर्थतन्त्रबाट अलग रहनु लगायत कारणले यो क्षेत्र कमजोर बनेको छ। विज्ञान पछाडि परे, अर्थतन्त्र कमजोर भयो, र समाज पछाडि रह्यो।”

उनले वैज्ञानिक सोच र प्रविधि विकासको गति सुस्त हुनु संरचनागत समस्या र विगतदेखि हालसम्मको बेवास्ताको परिणाम भएको औँल्याए। मन्त्री पुनले थपे, “पहिलोदेखि तेस्रो औद्योगिक क्रान्तिसम्म हामी पछि पर्नुको कारण विज्ञान र प्रविधिप्रति बेवास्ता हो। आर्थिक अभावले नेपाली जनतालाई दुःख भोग्न बाध्य बनायो।”

उनले शैक्षिक तथा अनुसन्धानमूलक संस्थालाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्नेमा जोड दिए। मन्त्री पुनले विश्वास व्यक्त गरे कि सीमित स्रोतसाधनमा पनि नास्टले प्रभावकारी नतिजा दिनसक्छ, र अनुसन्धानलाई व्यावहारिक रूपान्तरण गर्न योजनाबद्ध विकासमा जोड दिन सरकार तयार छ।

उनले आफ्नै जिम्मेवारीमा कम्तीमा तीन अर्ब बजेट अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा विनियोजन गर्ने योजना सार्वजनिक गरे। मन्त्री पुनले व्यक्तिगतस्तरमा नवप्रवर्तन केन्द्र सञ्चालनको न्यून परम्पराप्रति चिन्ता व्यक्त गर्दै, नास्टको प्रयास प्रशंसनीय भएको बताए।

समारोहमा नास्टले विभिन्न अनुसन्धानमूलक क्षेत्रमा योगदान पुर्‍याएका १३ जना वैज्ञानिकलाई पुरस्कार र सम्मान प्रदान गरेको थियो भने ५ जना वरिष्ठ वैज्ञानिकलाई आजीवन कदरपत्रसमेत हस्तान्तरण गरिएको थियो।

LEAVE A REPLY