अनुभवी नेता तथा साहित्यकार केशव प्रसाद पुडासैनी ‘बिमल’ रास्वपामा प्रवेश : नुवाकोटको राजनीतिमा नयाँ अध्याय

0
272

अनुभवी नेता तथा साहित्यकार केशव प्रसाद पुडासैनी ‘बिमल’ रास्वपामा प्रवेश : नुवाकोटको राजनीतिमा नयाँ अध्याय
नुवाकोट/पुस २९– नेपाली कम्युनिस्ट आन्दोलनका अनुभवी व्यक्तित्व तथा चर्चित साहित्यकार केशव प्रसाद पुडासैनी ‘बिमल’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। लामो समय तत्कालीन माओवादी केन्द्र हाल नेपाली  कम्युनिस्ट पार्टी संगको असन्तुष्टिका कारण  सक्रिय  राजनितिमा   नदेखिएका  पुडासैनी एकाएक  रास्वपामा प्रवेश  गरेपछि सबैलाई चकित तुल्यायो।   नुवाकोटको मात्र होइन, समग्र राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्यायो। राजनीति, संगठन र साहित्यका तीनै क्षेत्रमा बहुआयामिक योगदान दिँदै आएका पुडासैनीको निर्णयलाई वैकल्पिक राजनीतिको खोजी र सुशासनको पक्षमा उठेको महत्वपूर्ण आवाजका रूपमा हेरिएको छ।
२०३९ सालमा नुवाकोटको बेलकोटगढी नगरपालिका–३ मा जन्मिएका पुडासैनी नेपाली, हिन्दी र अंग्रेजी भाषामा दखल राख्ने बौद्धिक व्यक्तित्व हुन्। उनको राजनीतिक यात्रा २०५६ सालबाट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाट सुरु भएको थियो। विद्यार्थी राजनीतिमा जिल्ला कमिटी सदस्यदेखि केन्द्रीय समिति सदस्यसम्म पुग्दै उनले संगठन विस्तार र युवा जागरणमा उल्लेखनीय भूमिका निर्वाह गरे। माओवादी केन्द्रमा आबद्ध भएपछि युवा संगठन, जिल्ला तथा प्रदेश संरचनामा महत्वपूर्ण जिम्मेवारी सम्हालेका उनले जनसम्पर्क अभियान, संगठन सुदृढीकरण र राजनीतिक प्रशिक्षणमा सक्रियता देखाए। जनयुद्धको समयमा क्रान्तिकारी सपनाको उर्जा बोकेका पुडासैनी हजारौं युवामध्ये एक थिए, जसले व्यक्तिगत भविष्यभन्दा सामाजिक रूपान्तरणलाई प्राथमिकता दिए।
तर समयक्रममा माओवादी आन्दोलनभित्र विचार र व्यवहारबीचको बढ्दो दूरीले उनलाई गहिरो असन्तुष्ट बनायो। नेतृत्वको गुटबन्दी, अवसरवाद, शक्ति केन्द्रित राजनीति र जनउत्तरदायित्वको अभावले पार्टीको मूल आत्मा कमजोर बन्दै गएको उनको अनुभव छ। “सुशासन, पारदर्शिता र जनताप्रतिको प्रतिबद्धताका नारा भाषणमा सीमित भए,” पुडासैनीले भने, “इमानदार कार्यकर्ताको आवाज दबाइयो, आलोचनालाई अनुशासनहीनता ठहर गरियो।” गाउँमा जनताले सोध्ने प्रश्न—“हामीले लडेको परिवर्तन यही हो ? नेताहरू किन जनताबाट टाढा भए ?”—ले उनलाई झन् पीडित बनायो। पटक–पटक पार्टीभित्र सुधारको प्रयास गरे पनि परिवर्तन नदेखेपछि उनले माओवादी परित्यागको घोषणा गरे र वैकल्पिक राजनीतिको खोजीमा लागे।
यही आत्ममन्थनको परिणामस्वरूप पुडासैनीले रास्वपामा प्रवेश गरेका हुन्। “वर्तमान राजनीतिक अभ्यासले जनअपेक्षा पूरा गर्न सकेन,” उनले प्रवेशपछि भने, “रास्वपाले अघि सारेको सुशासन, पारदर्शिता र जवाफदेही नेतृत्वको संस्कृतिले सकारात्मक परिवर्तन ल्याउन सक्छ भन्ने विश्वास छ।” उनले जनताको विश्वास जित्ने, नीतिगत सुधार गर्ने र समृद्ध नेपाल निर्माणमा योगदान दिने प्रतिबद्धता जनाएका छन्। रास्वपाका स्थानीय नेताहरूले उनको प्रवेशलाई पार्टीको संगठन विस्तारको महत्वपूर्ण कदम मानेका छन्। पुराना दलहरूप्रति बढ्दो असन्तुष्टिका बीच यो घटनाले नुवाकोटमा नयाँ राजनीतिक समीकरणको संकेत गरेको विश्लेषकहरू बताउँछन्।
पुडासैनीको पहिचान राजनीतिमा मात्र सीमित छैन। उनी नेपाली साहित्यका स्थापित नाम पनि हुन्। साहित्यलाई राजनीतिक चेतना र सामाजिक यथार्थसँग जोडेर लेख्ने उनको शैलीले पाठकलाई गहिरो छुन्छ। उनका तीन प्रमुख कृतिहरू प्रकाशित छन् :
वर्गयुद्धका उत्ताल छालहरू (कविता संग्रह, २०६७) – जनयुद्धको क्रान्तिकारी भावना, वर्गसंघर्ष र परिवर्तनको आकांक्षा बोकेका कविताहरूले भरिएको यो पहिलो कृति हो। यसले उनलाई क्रान्तिकारी कविका रूपमा स्थापित गर्‍यो।

. अग्निपथ (उपन्यास, २०७०) – जनयुद्ध र शान्ति प्रक्रियाको पृष्ठभूमिमा क्रान्तिकारी सपना, अवसरवाद र सामाजिक विडम्बनालाई प्रतीकात्मक रूपमा चित्रण गरिएको यो उपन्यास गहिरो छ।  भत्केको घर (कथा संग्रह, २०७१) – सबैभन्दा चर्चित यो संग्रहमा ११ कथा छन्। जनयुद्धले परिवार र समाजमा पारेको प्रभाव, दलित उत्पीडन, पार्टीभित्रको पदलोलुपता र क्रान्तिकारी महिलाको पीडा प्रमुख विषय छन्। ‘भत्केको घर’, ‘हर्के बुढा’, ‘कमरेड मुक्ति’ जस्ता कथाहरू समकालीन समाजका जीवन्त दस्तावेज हुन्। समीक्षक श्रीहरि फुयाल र माधव घिमिरे ‘अताल’ले यसलाई पीडा र मानवतावादको ऐना भनेका छन्।
यसबाहेक उनका मुक्तक, कविता र फुटकर रचनाहरू विभिन्न पत्रपत्रिका तथा अनलाइनमा प्रकाशित छन्। साहित्यमार्फत उनले वैकल्पिक चेतनाको खोजी गराउँछन्।
पुडासैनीको यो बहुआयामिक यात्राले नुवाकोटसहित राष्ट्रिय राजनीतिक तथा साहित्यिक वृत्तमा उनको उपस्थितिलाई थप सशक्त बनाएको छ। रास्वपामा उनको अनुभव र बौद्धिकताले पार्टीको वैकल्पिक एजेन्डालाई बलियो बनाउने अपेक्षा गरिएको छ। आगामी दिनमा उनको भूमिकाले नेपाली राजनीतिमा कस्तो प्रभाव पार्ला, सबैको चासोको विषय बनेको छ।

LEAVE A REPLY