भरतपुर महानगरपालिका : वैज्ञानिक घर सङ्ख्याङ्कन र अङ्कीय ठेगाना प्रणालीका लागि महत्वपूर्ण सम्झौता

0
10

भरतपुर महानगरपालिका : वैज्ञानिक घर सङ्ख्याङ्कन र अङ्कीय ठेगाना प्रणालीका लागि महत्वपूर्ण सम्झौता
भरतपुर, चितवन — स्मार्ट सिटी भरतपुर परियोजना अन्तर्गत भरतपुर महानगरपालिकाले परामर्शदाता संस्था (एनआरईसी–आरएएएस–एसएफ) संयुक्त उपक्रमसँग महत्वपूर्ण सम्झौता सम्पन्न गरेको छ।
यो सम्झौतासँगै महानगरभरि वैज्ञानिक घर सङ्ख्याङ्कन तथा सडक ठेगाना प्रणालीको विकास र कार्यान्वयन हुने भएको छ। साथै, नवीन प्रविधिको प्रयोग गरी ठूलो मापनको अङ्कीय नक्सा, नगरस्तरीय भौगोलिक सूचना प्रणाली तथा जालस्थ अङ्कीय प्रोफाइल तयार गरिने छ।
यो परियोजनाले घर, सडक, पूर्वाधार, जनसङ्ख्या, सामाजिक–आर्थिक अवस्था, वातावरणीय तथ्याङ्क तथा प्रशासनिक संरचनालाई एउटै एकीकृत अङ्कीय प्रणालीमा समेट्ने छ। यसबाट शहरी योजना निर्माण, पूर्वाधार विकास, सेवा प्रवाह तथा निर्णय प्रक्रिया थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बन्ने अपेक्षा गरिएको छ।
यसैगरी, महानगरको कर प्रणालीलाई अङ्कीय ठेगाना प्रणालीसँग एकीकृत गरिने छ भने मोबाइल अनुप्रयोगमार्फत नगर तथा वडास्तरका सेवाहरू सहजरूपमा प्राप्त गर्न सकिने व्यवस्था मिलाइने छ।
मेयर रेणु दाहालले यो सम्झौताबारे भन्नुभएको छ, “भरतपुरलाई देशकै नमूना स्मार्ट सिटी बनाउने हाम्रो संकल्पलाई यो परियोजनाले थप गति दिनेछ। यो कार्यले नागरिकका दैनिक सेवा छिटोछरितो र पारदर्शी बन्नेछन्।”
यो कार्यले भरतपुर महानगरपालिकालाई अङ्कीय, व्यवस्थित तथा बुद्धिमान शहरतर्फ अग्रसर गराउने विश्वास लिइएको छ। महानगरपालिकाका अधिकारीहरूका अनुसार यो परियोजना पूरा भएपछि नागरिकले सेवा प्राप्त गर्न अझ सहज हुनेछ।

LEAVE A REPLY