
शिक्षा सुधारबिनाको युग परिवर्तन खोक्रो नारा मात्र : अध्यक्ष राजन गौतम ‘नकुल’


शिक्षा सुधारबिनाको युग परिवर्तनमाथि प्रश्न : अध्यक्ष राजन गौतम ‘नकुल’को आक्रोश
पुस ७ काठमाडौं ।
बागमती प्रदेशका प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष राजन गौतम ‘नकुल’ ले युग परिवर्तनको नारा लगाउने राजनीतिक शक्तिहरूको नियतमाथि कडा प्रश्न उठाउँदै शिक्षाक्षेत्रप्रतिको उदासीनताप्रति आक्रोश पोखेका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले शिक्षाबिनाको परिवर्तन केवल नारा मात्र हुने बताएका हुन्।
कार्यक्रममा बोल्दै अध्यक्ष गौतमले प्रश्न गरे, “युग परिवर्तन गर्छु भन्नेहरूले शिक्षाक्षेत्र सुधारका लागि के सोचेका छन् ? कि परिवर्तनको कुरा पनि भाषणमै सीमित छ ?” उनका अनुसार शिक्षा नीतिमा स्पष्टता, दीर्घकालीन दृष्टि र इमानदार कार्यान्वयन नहुँदा समाज रूपान्तरणको प्रक्रिया अवरुद्ध बनेको उनको तर्क छ।
उनले शिक्षालाई सबै परिवर्तनको मूल आधारका रूपमा व्याख्या गर्दै प्रत्येक पालिकामा आवश्यकता अनुसार एकदेखि तीनवटा आवासीय विद्यालय स्थापना गर्न सकिने ठोस प्रस्ताव अघि सारे। “राजनीतिक इच्छाशक्ति भए सबै बालबालिकालाई समान पहुँचसहित निःशुल्क र गुणस्तरीय शिक्षा दिन सकिन्छ,” भन्दै उनले वर्तमान शासकीय सोचप्रति कटाक्ष गरे।
अध्यक्ष गौतमले उदाहरण दिँदै आफ्नो आक्रोश व्यक्त गरे—कतै विद्यालय भवन छन् तर शिक्षक छैनन्, कतै शिक्षक छन् तर विद्यार्थी टिक्दैनन्, कतै डिग्री बाँडिन्छ तर सीप छैन। “यही अव्यवस्थाले देशको भविष्य अन्धकारतर्फ धकेलिरहेको छ,” उनको भनाइ थियो।
उनका अनुसार शिक्षा प्रणालीले अहिले पनि जीवनोपयोगी सीप, नैतिकता र सामाजिक जिम्मेवारीभन्दा परीक्षा र प्रमाणपत्रलाई प्राथमिकता दिइरहेको छ। “हामी डिग्रीधारी मात्रै होइन, इमानदार र जिम्मेवार नागरिक उत्पादन गर्न असफल हुँदै गएका छौँ,” भन्दै उनले शिक्षा संरचनामाथि गम्भीर प्रश्न उठाए।
अध्यक्ष गौतमले पुरानो ढर्राबाट शिक्षा सुधार सम्भव नहुने स्पष्ट पार्दै स्पष्ट दृष्टि, इमानदारी र जिम्मेवारीबोध भएको नयाँ पुस्ताको नेतृत्व आजको अपरिहार्य आवश्यकता भएकोमा जोड दिए। उनका भनाइलाई सहभागीहरूले शिक्षामा ठोस सुधारको मागका रूपमा लिएका छन्।











